तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीका माग र आवाजलाई बेलैमा सम्बोधन गरिदिएको भए मुलुकले आज यति ठूलो दुर्घटना बेहोर्नुपर्ने थिएन । निजी र संस्थागत गरी झन्डै ८० अर्ब बराबरको क्षति हुनु भनेको नेपाल धेरै वर्ष पछि धकेलिनु हो ।
काठमाडौँ — सडकको आवाजलाई सरकारले बेलैमा सुन्न नसक्दा यसपालि जेन–जी आन्दोलनका क्रममा मुलुकले ठूलो क्षति बेहोर्नुपर्यो । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले सडकको आवाज बेलैमा सुन्न नसक्दा आज देशै छोडेर जानुपरेको छ । भोलि नेपालमा पनि त्यस्तो अवस्था नआउला भन्न सकिन्न । सडक भनेको कसैको नियन्त्रणमा हुँदैन । सडक र आन्दोलन कहाँ गएर टुंगिन्छ, त्यसको पनि कुनै ठेगान नहुने रहेछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीका माग र आवाजलाई बेलैमा सम्बोधन गरिदिएको भए मुलुकले आज यति ठूलो दुर्घटना बेहोर्नुपर्ने थिएन । निजी र संस्थागत गरी झन्डै ८० अर्ब बराबरको क्षति हुनु भनेको नेपाल धेरै वर्ष पछि धकेलिनु हो । जेन–जी आन्दोलनका क्रममा भीड अराजक बन्नु र सरकारले त्यसमा घिउ थप्ने काम गर्दा यो किसिमको क्षति पुगेको हो । यसमा पहिलो दोषी सरकार हो भने नेतृत्वविहीन प्रदर्शन हुँदा घुसपैठियाले पनि मुलुक बर्बाद पार्न उल्लेख्य भूमिका खेलेकामा किञ्चित शंका छैन ।
आन्दोलनका नाममा अहिले नयाँ नयाँ माग थपिँदै छन् । आन्दोलनले कसलाई कसरी बढारेर जान्छ ? यसै भन्न सकिँदैन । यसपालिको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओली, उनका सारथि शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उठ्नै नसक्ने गरी थेचारेको छ ।
यसपालिको जेन–जीको मुख्य आक्रोश थियो– कुशासन, भ्रष्ट आचरण, सामाजिक सञ्जाल बन्द । जुन नाजायज पनि होइन । तर, आन्दोलनका नाममा भएको क्षतिको भने जति आलोचना गरे पनि कम हुन्छ ।
–गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
