राजनीतिलाई रणमैदान नबनाऔं

राजा वीरेन्द्रको शासनकालमा कतिपय भुइँफुट्टाहरूले विकासमा ध्यान नदिई राजाको आँखामा छारो हालेर आफ्नो भुँडी भर्ने गरेको, अत्याचार असह्य हुँदा नानीमैयाँ दाहालजस्तालाई जनताले राष्ट्रिय पञ्चायत सदस्यमा जिताएर सरकारको खिल्ली उडाएको सन्दर्भ भुल्न सकिँदैन ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Let's not make politics a battlefield

काठमाडौँ — राणाशासनपछि पनि नेपाली जनता राजनीतिक दुश्चक्रबाट निरन्तर प्रताडित बन्दै आएका छन् । २००७ सालमा प्रजातन्त्र आएपछि बनेका कुनै सरकारले मुलुकको समृद्धिलाई चिरस्थायी बनाउन ठोस नीति, रणनीति, कार्यनीति बनाएको पाइँदैन ।

बीपी कोइरालाले मुलुक सुहाउँदो समाजवादी सिद्धान्त अघि सारे पनि कांग्रेसका नेताहरूले वास्ता गरेनन् । उल्टै घरघरमा लुटपाट मच्चिएको, सर्वत्र भय, सन्त्रास थपिएको, त्रसित जनता पछिसम्म कसैलाई गाली गर्दा ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्न बाध्य बनेको सन्दर्भ प्रजातान्त्रिक इतिहासको पहिलो कलंक बन्न पुग्यो । 

राजा वीरेन्द्रको शासनकालमा कतिपय भुइँफुट्टाहरूले विकासमा ध्यान नदिई राजाको आँखामा छारो हालेर आफ्नो भुँडी भर्ने गरेको, अत्याचार असह्य हुँदा नानीमैयाँ दाहालजस्तालाई जनताले राष्ट्रिय पञ्चायत सदस्यमा जिताएर सरकारको खिल्ली उडाएको सन्दर्भ भुल्न सकिँदैन । 

२०४६ को राजनीतिक परिवर्तनले धेरै राजा जन्माएसँगै बर्सेनि काण्ड, भ्रष्टाचार, अत्याचारले सीमा नाघेको, १० वर्षे जनयुद्धबाट मुलुकको व्यथा २० को १९ हुन नसकेको यथार्थ प्रस्ट छ । वर्तमान संविधान जारी भएको १० वर्षभित्र हरेक क्षेत्रमा राजनीतिक भागबन्डा, नातावाद, कृपावाद, पदको खरिदबिक्री, स्टन्टबाजी, नाराबाजीलगायत अवाञ्छित क्रियाकलापले मुलुक एसियामै गरिब बन्न पुग्यो, झैझगडा, तातो रिस, क्रोध र प्रतिशोधको भावनाले मुलुक निरन्तर जलिरह्यो । 

राजनीतिज्ञको उमेर सम्बन्धमा विश्वको वस्तुस्थिति हेरौं अमेरिका, चीन, रुस, भारतजस्ता शक्तिशाली देशहरूलाई पाको उमेरका नेताहरूले उचाइमा पुर्‍याएका छन् । त्यस्तै माओत्सेतुङले तितरबितर बनेको चीनलाई एकढिक्का बनाएको, महात्मा गान्धीले शान्तिपूर्ण अभियानलाई आत्मसात् गर्दै चप्पल र धोतीको भरमा कठोर ब्रिटिस शासकहरूलाई भारतबाट लखेटेको, नेल्सन मन्डेलाले दशकौंसम्म कारागारमा बसेर पनि राजनीतिक अभियानमा सफल बनेको दृष्टान्त भुल्न सकिँदैन । 

उता थाइल्यान्डकी निवर्तमान युवा प्रधानमन्त्री बढी चुरीफुरीका कारण छोटो समयमै पदच्युत बनेको, यता रास्वपा ठूला डिग्रीधारी युवा नेतृत्वले भरिए पनि क्षतविक्षत भएको यथार्थ छर्लङ्ग छ । वस्तुतः राजनीति सबै उमेर समूहको निम्ति संगमस्थल बन्दै आएको र जसको गहिराइ किताबी ज्ञानको भन्दा निकै ठूलो रहेको पाइन्छ । यतिबेला जेन–जीको माग स्वीकार गर्न नसकी भ्रष्ट नेतृत्वले मुठभेड निम्त्याएमा हाम्रो अवस्था पनि सुडान, सोमालियाको जस्तो नहोला भन्न सकिँदैन । बेलैमा सचेत हौं । राजनीतिलाई रणमैदान नबनाऔं । –भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully