नेतृत्वलाई गलहत्याउने दिन नआओस्

आफूहरूले पाइला पाइलामा संविधानको मर्म उल्लंघन गरेकै कारण देश यो अवस्थामा पुगेको कुरा दलका नेतालाई थाहै छ ।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

Don't let the day come when leadership is lost

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा थुप्रै जनधनको विनाश भयो । र पनि, सत्ताबाट बाहिरिएका दलका नेताको बुद्धि अझै फर्किएको छैन । सत्तामा लामो समयसम्म बसेका हुँदा भ्रष्टाचार कसरी हुन्छ र देशमा सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने कुरा उनीहरूलाई राम्रैसँग थाहा छ ।

त्यसैले, ‘हामीले ठूलो गल्ती गर्‍यौं । हामी नेपाल आमा र नेपाली जनतासँग माफी माग्छौं । हाम्रो उमेर पनि गयो । देश यहाँहरूकै हो । अब हामी सन्न्यासी मनले देशनिर्माणमा यहाँहरूलाई सकेजानेको सल्लाह दिनेछौं...’ यत्ति मात्र भनिदिए पनि उनीहरूकै मनशान्ति हुने थियो । जनताले पनि उनीहरूप्रति थोरै सहानुभूति जनाउने थिए । तर उनीहरूमा पनि आफ्ना ९९ भाइहरू मारिइसक्दा पनि दुर्योधनमा कुनै गल्तीबोध र पश्चाताप नभएजस्तो अवस्था छ । 

आफूहरूले पाइला पाइलामा संविधानको मर्म उल्लंघन गरेकै कारण देश यो अवस्थामा पुगेको कुरा दलका नेतालाई थाहै छ । तर, ‘...संसद् भंग हुनु संविधानविपरीत वा संविधानको दायराबाहिर भयो’ भनेर संविधानको दुहाइ दिने उनीहरू नै भए । कोही पार्टी कार्यालयमा ठूलो झन्डा राखेर आफ्नो गल्ती छोप्न खोज्दै छन् । कोही ‘अझ भव्य पार्टी कार्यालय’ बनाउने भनेर फुर्ती गर्दै छन् । वास्तवमा हामी नेपालीको नियति नै ‘सहनशील’ बन्नुरहेछ !

–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

....

देशमा यति ठूलो उथलपुथल भयो । विश्वमा कहीँ नभएको २७ घण्टामा सत्ता नै परिवर्तन भयो । तर पनि हाम्रा पुराना दलका वृद्ध नेतामा कुनै चेत पलाएको देखिएन । कांग्रेस, एमाले र माओवादी मात्रै होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कसैले पनि राजीनामाको उच्चारणै गरेका छैनन् । कसैमा पनि अब युवा पुस्तालाई नेतृत्व दिएर बाँकी रहेको आफ्नो इज्जत र प्रतिष्ठा जोगाऔं भन्ने सोच आएको देखिएन । 

जेन–जी आन्दोलन सम्पन्न भएको पनि १० दिन बितिसकेको छ । मुलुकमा नयाँ प्रधानमन्त्री र सानो मन्त्रिमण्डल बनिसक्दा पनि पुराना दलका नेतामा चेत नफिर्नु भनेको उदेकलाग्दो कुरा हो । वृद्ध शीर्ष नेताले पद त्याग गरुन् भन्ने कुरा जेन–जीको मात्र होइन, आमजनताको भावना पनि हो । तर शीर्ष नेताले त्यो भावनाको कदर गर्नै सकेनन् । देश उनीहरूकै कुशासन र भ्रष्ट आचरणका कारण खरानी हुँदा समेत उनीहरूमा पद हस्तान्तरण गरौं भन्ने चेत नपलाउनु दुर्भाग्य हो ।

तपाईंहरूकै कारणले पार्टीप्रति मानिसहरूको वितृष्णा बढिरहेको छ । यस्तो बेला स्वाभाविक ढंगले पदत्याग नगर्ने हो भने जेन–जी पुस्ताले शासक परिवर्तन गरेजस्तै तपाईंहरूका पार्टीका असल र इमानदार युवापुस्ता जुर्मुराएर नेतृत्वलाई गलहत्याउने दिन आउन पनि धेरै समय लाग्ने छैन । अबको युवापुस्ता भ्रष्ट र पदलोलुप नेतृत्व पंक्तिलाई सधैंभरि बोकेर हिँड्न र सहेर बस्न कदापि सक्दैन ।

–गोपाल देवकोटा, काठमाडौं

कान्तिपुर

Link copied successfully