भाटभटेनी केवल एउटा सुपरमार्केट मात्र नभई हाम्रो दैनिक जीवनसँग जोडिएको, नेपाली उत्पादनलाई बलियो बनाउने र देशको अर्थतन्त्रलाई मजबुत बनाउने साझा आधार स्तम्भ पनि हो ।
काठमाडौँ — खोटाङको रावाबेंसी गाउँपालिकामा जन्मेका मीनबहादुर गुरुङले सानो किराना पसलबाट सुरु गरेर देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनी निर्माण गर्नुभएको कुरा सबैलाई विदितै छ । भाटभटेनीमा आमाको अचारदेखि दाल–चामल, दूध–दही, तरकारीसम्म हाम्रो आफ्नै खेतबारी र उद्योगमा बनेका सामान सस्तो मूल्यमा उपलब्ध हुने गरेका छन् ।
यसैले भाटभटेनी केवल एउटा सुपरमार्केट मात्र नभई हाम्रो दैनिक जीवनसँग जोडिएको, नेपाली उत्पादनलाई बलियो बनाउने र देशको अर्थतन्त्रलाई मजबुत बनाउने साझा आधार स्तम्भ पनि हो ।
हालसम्म हजारौं नेपालीले भाटभटेनीमार्फत प्रत्यक्ष रोजगारी पाएका छन् भने लाखौंले अप्रत्यक्ष लाभ लिएका छन् । विदेश पुँजी पलायन भइरहेकामा गुरुङले गार्मेन्ट, होटलदेखि विभिन्न उद्योगमा यही देशमै लगानी गरी देशलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ । साथै, उहाँले बाल अस्पताल निर्माणदेखि थुप्रै सामाजिक सेवामा खुलेर आफ्नै आम्दानी खर्च गर्नुभएको छ, जसबाट हजारौं बालबालिकाले नयाँ जीवन र जिन्दगी पाएका छन् ।
तर, दुःखद् कुरा, उहाँको ४० वर्षको मिहिनेत जेन–जी प्रदर्शनका क्रममा केही घण्टामै जलेर खरानी पारियो, देशका विभिन्न क्षेत्र, जिल्लामा रहेका भाटभटेनी स्टोर लुटियो र आगजनी गरियो । यद्यपि, उहाँ आत्तिनुभएको छैन, अझै उठ्ने, अझै देशका लागि काम गर्ने अटुट विश्वास र हिम्मत राख्नुभएको छ । यस्ता उद्यमीलाई जोगाउनु, उठाउनु र सम्मान गर्नु नेपाल सरकार तथा हामी सबै नेपालीको साझा दायित्व हो । भाटभटेनी केवल मीनबहादुर गुरुङको मात्र होइन, यो हजारौंको जागिरमार्फत धेरैको रोजीरोटी चलाउने नेपालीको हो । धेरैको भविष्य हो, हाम्रो र राम्रो भाटभटेनी हाम्रो गौरव पनि हो ।
–कर्णराज कटुवाल, निवर्तमान अध्यक्ष, खोटाङ हलेसी सेवा समाज, काठमाडौं
