What you should know
काठमाडौँ — भदौ २३ र २४ को जेन–जी प्रदर्शनका क्रममा ७३ जनाको मृत्यु भइसकेको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबरले पीडित परिवार मात्र नभई पूरा देश मर्माहत बनेको छ । यसैबीच मृतकमध्ये ४६ जनाको छातीभन्दा माथि गोली लागेर मृत्यु भएको जानकारी कान्तिपुरले नै सार्वजनिक गरेको छ ।
विशेषतः नेपालमा भएका विगतका कुनै आन्दोलन बालबालिका र युवा केन्द्रित थिएनन्, दुई दिनमै यत्रो नरसंहार कहिल्यै देख्नुपरेको थिएन ।
अनुमानित आँकडाअनुसार नेपालमा अहिले जेन–जी समूहका युवाको संख्या ७०–८० लाख रहेको र सूचना प्रविधिमा अब्बल देखिएको यो शक्तिले सरकारका घातक गतिविधिसँग जोडिएका कुशासन, भ्रष्टाचार, बेरोजगारी, युवा पलायनलगायतका जल्दाबल्दा समस्या अघि सार्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिँदा अहंकारी र हठवादी प्रधानमन्त्री केपी शर्मा ओलीको सिकार बनेको पीडादायी यथार्थ भविष्यमा कसले बिर्सन सक्ला र ? तथापि, वितण्डा मच्चाउँदै आएका सत्ताधारी र ठूला दलका शीर्ष नेता प्रतिनिधिसभाको विघटनबाट तितरबितर भएसँगै अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीका क्रियाकलापले धेरैमा नयाँ आशा पलाएको देखिन्छ ।
प्रधानमन्त्री कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई क्रमशः अर्थ, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास र गृह र कानुनमन्त्रीमा नियुक्त गरेपछि शासकीय प्रणाली केही फराकिलो बनेको छ । यसैबीच अकालमा मृत्यु हुने युवालाई समवेदना प्रकट गर्न बुधबार सार्वजनिक बिदा दिई राष्ट्रिय झन्डा आधा झुकाइयो । प्रत्येक पीडित परिवारलाई १५–१५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यसअघि तथाकथित भीआईपीको मृत्यु हुँदामात्र बिदा दिने प्रचलन रहेको, राणाकालदेखि अहिलेसम्मका शासकले जनतालाई भेडाबाख्राको व्यवहार गर्दै आएको स्थितिमा यो नवीन निर्णयले देशविदेशमा सकारात्मक सन्देश फैलाएको छ । त्यस्तै अबदेखि विमानस्थलहरूमा भीआईपी कक्ष नरहने व्यवस्था गरेसँगै समानता एवं लोकतन्त्रको नयाँ अभ्यास पनि प्रारम्भ भएको मान्न सकिन्छ ।
यता नवनियुक्त मन्त्रीद्वय खनाल र घिसिङले तलब–भत्तालगायत कुनै सरकारी सुविधा नलिने उद्घोष गर्नुलाई समाजवादको सिद्धान्त, देशको विकासप्रति समर्पण, देशभक्तिको महान् विचारको प्रतिबिम्ब नभनी रहन सकिँदैन ।
–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
