सरकार किन यतिधेरै असन्तुष्ट ?

सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयले जनताको आवाज दबाउन खोजिएको आशंका, निर्णय सोचविचार नगरी गर्दा ठूलो क्षति हुन सक्ने चेतावनी।

भाद्र २०, २०८२

पाठक पत्र

Why is the government so dissatisfied?

काठमाडौँ — सूचीकृत नभएका सामाजिक सन्जाललाई सरकारले बन्द गर्न निर्देशन दिएको छ । जनसरोकारका तमाम काम छाडेर सरकार सामाजिक सन्जाल बन्द गर्न किन यतिधेरै लालायित बनेको होला, बुझ्न सकिएन ।

फेसबुक, एक्स, इन्स्टाग्रामजस्ता लाखौं मानिसले चलाउने गरेका सामाजिक सन्जाल बन्द गर्नु उचित होइन । जनताको पहुँचमा रहेको फेसबुक बन्द गर्नु भनेको जनताको आवाज पनि बन्द गर्नु हो । जनताले बोल्ने ठाउँ बनेको फेसबुकलाई बन्द गरियो भने जनआवाज बन्द हुँदैन ? प्रजातन्त्रमा जनताको आवाज बन्द गर्न पाइँदैन । सरकारले यो कुरामा ध्यान दिनु पर्‍यो । 

सरकारले किन सामाजिक सन्जालहरू नियमन गर्न खोजिरहेको छ ? यसका पछाडि सरकारी बाध्यता छ कि अरु केही नियत छ– थाहा भएन । अन्य देशमा सामाजिक सन्जाल सरकारको नियमनमा छन् त भन्ने प्रश्न पनि आएको छ । कतै सरकारले जनआवाज दबाउने षड्यन्त्र त गर्दै छैन भन्ने कुरा छ । 

सामाजिक सन्जालका विकृति नियन्त्रण गर्नुपर्छ । त्यसो भन्दैमा सामाजिक सन्जाल नै बन्द गर्ने कामचाहिँ ठिक होइन । सोसल मिडियाकै कारण कतिपय समाचार बाहिर आएका छन् । के अब समाचारको पहुँचबाट पनि जनतालाई टाढै राख्ने ? 

अहिले विदेशमा रहेका आफ्ना छोराछोरीसँग कुरा गर्ने उपयुक्त माध्यम पनि फेसबुक, वाट्सएप आदि भएका छन् । अब यी सबै बन्द हुने भए । सरकारले हरेक कदम सोचविचार गरेर चाल्नुपर्छ । हचुवाका भरमा निर्णय गर्दा कहिलेकाहीं ठूलो क्षति पनि बेहोर्नुपर्ने हुन सक्छ । चेतना भया ! 

–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं 

पाठक पत्र

Link copied successfully