न्यायमा ढिलाइ हुनु गम्भीर

राजनीतिक मुद्दाको चाप बढ्यो भन्दै सर्वसाधारणका मुद्दा पन्छ्याइँदा न्याय प्रणालीको प्रभावकारितामाथि नै गम्भीर प्रश्न उठेको छ।

भाद्र १८, २०८२

पाठक पत्र

Delays in justice are serious

काठमाडौँ — राजनीतिक मुद्दाको चाप बढेको भन्दै सर्वसाधारणका मुद्दा पन्छाउनु विकृत मनोविज्ञान र जनतामाथि ठूलो अन्याय हो । अञदालतमा राजनीतिक र सार्वजनिक सरोकारका मुद्दाको चाप बढ्दा वर्षौंदेखि न्यायको आसमा रहेका हरिराम अहिर र राजेन्द्र महतो कोइरीजस्ता हजारौं नागरिक निराश बन्नुपरेको अवस्था अत्यन्तै चिन्ताजनक छ । 

सर्वोच्च अदालतमा मुद्दा फर्स्योटको दर ३७.६७ प्रतिशतमा सीमित हुनु र दैनिक औसतमा ६०–८० वटा मुद्दा मात्र सुनुवाइ हुनुले न्याय प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । संवैधानिक इजलासमा हुने राजनीतिक मुद्दाहरूको बहसले हप्तौंसम्म समय लिँदा आमजनताका महत्त्वपूर्ण मुद्दा ओझेलमा परेका छन् । 

न्यायाधीशहरूको अभाव र फैसलामा हुने ढिलाइले ‘न्यायमा ढिलाइ गर्नु न्याय नदिनुसरह हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । वर्षौंसम्म मुद्दाको तारिख धाउँदा धाउँदै कतिपयको जीवनलीला नै समाप्त भइसकेको छ ।

यस समस्याको समाधानका लागि अदालतले फास्ट ट्र्याकबाट मुद्दाको छिनोफानो गर्नुपर्छ । यसका लागि पीआईएल र रिटहरूका लागि छुट्टै इजलासको व्यवस्था गरी जनताका मुद्दालाई प्राथमिकता दिइनु आवश्यक छ । 

–प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक

Link copied successfully