कृषिप्रधान देशभित्र कस्तो हेपाहा प्रवृत्ति ! जो देश थाम्न काँध थापेर उभिएका छन्, उनीहरूलाई तीनै तहका सरकारले थिचोमिचो गरेपछि देश कहिले उँभो लाग्ने ?
What you should know
काठमाडौँ — केन्द्रदेखि गाउँ तहसम्मका विभिन्न कृषिकर्ममा लागेका किसान पाइला–पाइलामा शासक, नेतृत्वबाट उपेक्षित बन्दा जीवनयापनको कठिन यात्रामा छटपटाइरहेका छन् ।
उखु किसानको दुःख–पीडालाई जिम्मेवार नेतृत्वले हाँसखेल र तमासाको विषय बनाएका छन् । प्रतिक्विन्टल ७० रुपैयाँका दरले दिंदै आएको अनुदान रकम सरकारको ढुकुटीमा पैसा नभएको भन्दै ३५ रुपियाँमा झारेपछि पीडित उखु किसान अहिले राजधानीकेन्द्रित विरोध प्रदर्शन गर्न बाध्य छन् ।
यसैबीच समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी उपेक्षाका कारण वेदनाले पिल्सिएका कृषकसँग मुस्कुराउँदै खिचेको तस्बिरले सकारात्मक भन्दा नकारात्मक सन्देश बढी दिएको छ ।
५ कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाको सिद्धान्त र नीति कृषकको उत्थानसँग सम्बन्धित छैन ? मूर्धन्य नेतृत्वले भरिएको मोर्चाको आँट र अठोटले उखु किसानको समस्या समाधान हुँदैन ? त्यस्तै देशकै ठूलो दलको महामन्त्री बन्ने अवसर पाएका, बहुआयमिक विचारधारा बोकेका थापा कृषकको समस्या समाधान गर्न अघि सर्नुपर्ने होइन ?
नेताद्वयले किसानसँग उभिइ क्यामरातिर फर्केर हाँस्दा समस्या समाधानको संकेत मिल्छ कि ‘हामी पनि तिमीहरूको आन्दोलनमा सँगै छौं’ भन्ने अभिव्यक्ति भेटिन्छ ?
कृषिप्रधान देशभित्र कस्तो हेपाहा प्रवृत्ति ! जो देश थाम्न काँध थापेर उभिएका छन्, उनीहरूलाई तीनै तहका सरकारले थिचोमिचो गरेपछि देश कहिले उँभो लाग्ने ? यथार्थमा उखु किसान मात्र नभएर दुग्ध उत्पादकदेखि कृषि पेसामा लाग्ने सबैजसो किसान शासकीय रबैयाका कारण थिलथिलो बनिरहेका छन् ।
बरु पहिले आपद्विपद् पर्दा शासकबाट केही दिनको तलब काटेरै भए पनि कृषक उकास्ने काम हुन्थ्यो । अब उनीहरूमाथिको उपहास, थिचोमिचो शासकीय संस्कार बनेको छ । –भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
