समग्रमा भन्ने हो भने राज्यको पहिलो प्राथमिकतामा पर्नुपर्ने कृषि क्षेत्रलाई सबैभन्दा अपहेलित बनाइएको छ ।
What you should know
काठमाडौँ — कृषिप्रधान भनेर हामीले भन्दै आएको यो मुलुक अहिले कृषि बिग्रिएर लथालिंग अवस्थामा पुगेको छ । माटोलाई माया गर्ने र महत्त्व बुझ्ने नागरिकको संख्या निरन्तर घट्दो छ ।
यिनै सन्दर्भमा आधारित रहेर युग पाठकले लेखेको ‘बीजमन्त्रको खोजी’ आलेख अत्यन्त शिक्षाप्रद, यथार्थ र मर्मस्पर्शी लाग्यो ।
आमरूपमा भन्ने गरिएको शिक्षा र विकासले कृषिलाई उच्च बनाउनुको साटो झन् तुच्छ बनाइदियो । शिक्षित संभ्रान्त भनिएकाहरू माटो छुन घिन मान्ने भए । कृषिमा निर्भर किसानहरू मैलाधैला र बसेर खाने अल्छीहरू सुकिला मुकिला बन्ने भाष्य स्थापित हुँदै गयो ।
यसरी चर्को हेपाइमा पर्दै गएको कृषि क्षेत्र अहिले आएको सतही र हचुवाशैलीका परिवर्तनको चेपुवामा परेर संकटग्रस्त अवस्थामा पुगेको छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटो मर्दै गएको छ भने बीउ विजनको परनिर्भताको समस्या झन्झन् चर्को भएको छ ।
एकातिर बालीमा लाग्ने रोगव्याधिमा उचित उपचारको अभाव छ भने किसानले फलाएका फसलमा बिचौलियाको रजगज छ । न किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन्, न त उपभोक्ताले सस्तोमा खान पाएका छन् ।
समग्रमा भन्ने हो भने राज्यको पहिलो प्राथमिकतामा पर्नुपर्ने कृषि क्षेत्रलाई सबैभन्दा अपहेलित बनाइएको छ । जैविक विविधताले सम्पन्न यो मुलुकमा परम्परागत मिश्रित खेती प्रणाली पनि विशाल सम्पदा हो ।
आधुनिकता र विकासका नाममा निरन्तर ओरालो लाग्न थालेको यो क्षेत्रलाई सम्मानित पेसा बनाएर देशलाई समुन्नत बनाउनतिर लाग्न ढिला गर्न हुँदैन । भोक लाग्दा ढुंगामाटो वा नोटका बिटा खाएर टर्दैन, माटोमै उब्जिएको वस्तु चाहिन्छ ।
छिमेकतिरका विशाल मुलुकहरू तीव्र औद्योगीकरणतर्फ लम्कँदै गरेको अवस्थामा नेपालले गर्न सक्ने भनेको स्वस्थवर्द्धक खाद्यान्न उत्पादन गरेर निर्यात बढाउनु पनि हो ।–कृष्ण कुम्पुरे, आदमटार, धादिङ
