जनताले अब दलसँग केवल ‘नारा’ होइन, काम गरेर देखाएका व्यक्तिलाई अघि सार्ने अपेक्षा गरेका छन् ।
काठमाडौँ — नेपालको राजनीति दशकौंदेखि पुरानै अनुहार, पुरानै शैली र पुरानै असफलताले घेरिएको छ । जनताले दल बदल्दा पनि परिणाम उस्तै–उस्तै रहँदै आएको छ ।
कारण एउटै हो– सत्ताको शीर्षमा पुग्नेहरूमा न दीर्घ दृष्टिकोण छ, न त इमानदारीपूर्ण समाजसेवाको इतिहास । यस्तो अवस्थामा नयाँ क्षेत्र र तप्काका व्यक्तिको राजनीतिमा प्रवेश हुनु एक ताजगीपूर्ण आशा हुन सक्छ ।
एमाले, कांग्रेस र माओवादीजस्ता ठूला दल हरेक चुनावमा केवल चुनाव जित्ने ध्याउन्नमा मात्रै रहन्छन् । त्यस्तै उम्मेदवारलाई अघि सार्छन् ।
किन समाजसेवा, शिक्षा, स्वास्थ्य, विज्ञान, व्यवसाय वा अन्य क्षेत्रमा इमानदारीपूर्वक योगदान गरेका व्यक्तिलाई मैदानमा उतारिँदैन ? देशको राजनीति सुधार्न दलहरूले पनि अब सक्षम, शुद्ध र समर्पित अनुहारलाई प्राथमिकता दिनैपर्छ ।
युवाहरूको राजनीतिक प्रवेश दलहरूसमक्ष एउटा चुनौती पनि हो । जनताले अब दलसँग केवल ‘नारा’ होइन, काम गरेर देखाएका व्यक्तिलाई अघि सार्ने अपेक्षा गरेका छन् । यदि ठूला दलले अझै पुरानै असफल अनुहारलाई चुनावी मैदानमा उतारिरहे भने समय आउँदैछ जनताले सक्षम व्यक्तिलाई दलभन्दा माथि उठेर रोज्नेछन् ।
नेपाललाई अब क्रान्ति होइन, इमानदार नेतृत्व चाहिएको छ । समाजलाई वास्तविक सेवा गरेर आएको नेतृत्व चाहिन्छ । युवा व्यक्तित्व राजनीतिमा आए भने त्यो परिवर्तनको सुरुवात बन्न सक्छ । दलहरूलाई चेतावनी हो– सक्षम व्यक्तिलाई अघि सार, नभए जनता आफैं विकल्प खोज्नेछन् । –सन्तोष सिम्खडा, टोकियो, जापान
