नेताहरूको व्यस्ततालाई जनताको आवश्यकताभन्दा स्वार्थ र षड्यन्त्रले निर्देशित गरेको छ, जसले सदाचार र सुशासनको उपेक्षा गरेको छ।
काठमाडौँ — कुनै पनि समाज अथवा राष्ट्रको नेतृत्व गर्ने भनेको नेताले हो । त्यस्ता व्यक्ति नयाँ विचार दिन सक्ने र सबैको भलो चिताउने असल प्रवृत्तिको हुनुपर्छ ।
सामान्य अर्थमा भन्नुपर्दा, यस्तो कामको समग्रतालाई राजनीति भनिन्छ । राजनीति भनेको नीतिमध्येको सबैभन्दा राम्रो नीति पनि हो । यसैका आधारमा राज्य सञ्चालन हुन्छ । तर यसमा अचेल धूर्त्याइँ, स्वार्थ र षड्यन्त्र मिसिएको छ । हाम्रा राजनीतिक गतिविधि अनावश्यक रूपमा फैलिएर पनि सानो क्षेत्रफलमा साँघुरिएका छन् । तिनका अनेक गतिविधि व्यर्थ भएका छन् ।
नेताहरूको कामै यस्तै रहेछन्, विभिन्न राजनीतिक पार्टीका गतिविधि दिनहुँ भइरहन्छन् । भेला, बैठक, भेटघाट, छलफल, मार्गनिर्देशन, स्वागत कार्यक्रम, शुभकामना कार्यक्रम, बधाई कार्यक्रम, उद्घाटन, प्रवचन, महाअधिवेशन... नाम नै सम्झेर साध्य छैन । तर ती कुनैले पनि सदाचार, सुशासन, रोजगारी, आत्मनिर्भरता जस्ता देश र जनताको सरोकारलाई प्राथमिकता दिँदैनन् । गर्छन् त खालि आफ्नै पार्टीको प्रशंसा र अरूको निन्दा ।
बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाजस्ता वीरहरूको गाथा पढेर गौरव गर्ने हामी आज छिमेकीका सामु निरीह बन्दै छौं । यो भन्दा विडम्बना के हुन्छ ? यस्तो भएपछि कहिले हुने देश समृद्ध ? कहिले पाउने जनताले सुख र सुविधा ?
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
