मानिसको दिल–दिमागमा रहेका छाउगोठ भत्काऔं

महिनावारीलाई जीवनको वरदान नमान्दा समाज अझै अन्धविश्वासमा रुमल्लिएको देखिन्छ।

भाद्र १५, २०८२

पाठक पत्र

Let's break the barriers in people's hearts and minds

What you should know

काठमाडौँ — पश्चिम नेपालका थुप्रै जिल्लामा अझै चलनचल्तीमा रहेको छाउपडी प्रथाको जालो र जरो काट्न नसकिएका कारण निर्दोष महिला र बालिकाले बर्सेनि ज्यान गुमाइरहेका छन् । अछामकौ पञ्चदेवलमा यस्तै दुःखद घटना फेरि दोहोरिएको छ ।

सिंगो राज्य लागेर ऐन कानुन बनाउँदा पनि समुदायमा किन सकारात्मक प्रभाव पर्न सकेन भनेर अन्तर–कुन्तर खोतल्न र प्रभावकारी उपाय निकाल्न अब ढिला गर्न हुँदैन । हजारौं वर्षदेखि मानिसका दिमागमा ढुंगाछापझैं गढेर बसेको अन्धविश्वासलाई दखावटी ऐन–कानुन र सरकारी निर्देशनले मात्र उन्मूलन गर्न सम्भव छैन । 

मुख्यगरी सानै उमेरदेखि विद्यालयमा र गाउँ टोलका सामुदायिक अध्ययन केन्द्रमा महिलाको शारीरिक बनोट, महिनावारी हुनुको वैज्ञानिक कारणका बारेमा प्रस्ट बुझिने गरी शिक्षा दिने व्यवस्था गर्न ढिला नगरौं । दुनियाँमा महिनावारी बार्ने चलन नभएका देशहरू विकासको मार्गमा धेरै अघि बढिसकेका छन् । खोइ त त्यहाँका देवी देउता रिसाएका ? 

महिनावारी भनेको त महिलाका लागि जीवनकै वरदान हो । त्यही महिनावारी हुने कारण र शक्तिका कारण महिला आमा हुने यथार्थलाई बुझ्न र गर्व गर्न नजानेर अनाहकमा मानिस पीडामा रुमल्लिएका छन् । यो एउटा ठूलो अज्ञानताका कारणले गर्दा समाजमा आज पनि रुढिवादी चलन बाँकी रहनु हामी सबैका लागि लज्जाको विषय हो । 

निरक्षर र अन्जान मानिसमात्र नभएर समाजका टाठाबाठा, नेता, शिक्षक र अगुवाहरूले पनि यो संवेदनशील विषयलाई गहिरोसँग खुट्याउने र मुक्तिमार्गमा लाग्ने आँट र जाँगर नलगाएको देख्दा ताजुब लागेर आउँछ । 

भौतिक रूपमा छाउगोठ भत्काउने हल्लाखल्ला र औपचारिकताभन्दा मिहीन ढंगको जिम्मेवारीपूर्ण कार्य कौशल र तत्परताले मात्र यो संस्कारबाट मुक्ति मिल्नेछ । प्राथमिकताका साथ मानिसको दिल र दिमागमै अमिट रूपमा रहेको छाउगोठ भत्काउने उपाय नअपनाउँदासम्म यो समस्या समाधान हुने छैन ।

–कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक पत्र

Link copied successfully