टोलटोलका भद्रगोल सिंहदरबार

टोलवासीका समस्या पहिचान गर्ने, उनीहरूका गुनासा सुन्ने र तिनको उचित सम्बोधन गर्ने काम स्थानीय सरकारको प्राथमिकतामा पर्दै परेन ।

भाद्र १३, २०८२

पाठक पत्र

Bhadragol Singh Darbar of Toltol

काठमाडौँ — टोलटोलमा आएको भनिएको सिंहदरबारले गर्नुपर्ने र गर्नसक्ने काम अथाह भए पनि अधिकांश ठाउँको अवस्था भद्रगोल छ ।

विकास तथा समृद्धिका नाम र नारा दिएर स्थानीय सरकारमा गएकाहरूले गर्नैपर्नै पहिलो काम भनेको टोलवासीको समस्या पहिचान, अध्ययन, गुनासो सुनुवाइ र उचित सम्बोधन हो । हिजोआज त विकासका नाममा बिनाअध्ययन हरिया वन जंगल, खेत र कोदो–मकै फल्ने बारीमा डोजर कुदाएर विनाशको खेती मात्र गरिएको छ ।

बाटो बिराएको शिक्षालाई सहीमार्गमा ल्याउने, हेलाहोचोमा पर्न थालेको कृषिलाई सुधारेर समुदायलाई आत्मनिर्भर बनाउने, भान्सा र खानपान बिग्रिएर नाजुक भएको स्वास्थ्य क्षेत्रलाई त्राण दिने योजना ल्याएर रोगमुक्त समाज निर्माण गर्ने, दिन दुई गुणा रात चौगुणाका हिसाबले भयावह बन्दै गएको वातावरण विनाशलाई सम्बोधन गर्नका लागि उचित योजना ल्याएर कार्यान्वयन गर्दै गाउँटोलमा विकासको नमुना देखाएर टोलवासीको विश्वास जित्नुपर्नेमा उल्टो बाटो हिंडिएको छ । 

कमिसनको चलखेलपछि तयार भएका अधिकांश बाटाघाटामा गाउँघरको उत्पादन बोकेर सहर झर्नुपर्ने सवारीसाधन अखाद्यबस्तुले भरिएका ट्र्रक ट्रयाक्टर सहरबाट गाउँटोलमा भित्रिरहेका छन् । यस्ता किसिमका यावत् समस्या र हचुवा शैलीबाट मुक्ति दिनका लागि टोले सिंहदरबारहरू पारदर्शी, दूरदर्शी लगनशील तथा विश्वसनीय हुन आवश्यक छ । अन्यथा व्यवहारमा नदेखिएको र न्यानो महसुस गर्न नसकिएको समृद्धि भनेको आकाशको खेती जस्तो कोरा कल्पनामै सीमित रहनेछ । आशा गरौं, अब सुशासनका प्रयासको थालनी हुन समय लाग्ने छैन ।

–कृष्ण कुम्पुरे,आदमटार,धादिङ

पाठक

Link copied successfully