निर्वाचनका बेला दिएका वाचाहरू पूरा नगरेको भन्दै नेताहरूको आलोचना बढ्दै गएको छ।
काठमाडौँ — चरम राजनीतीकरणको नसानसामा छिरेको माफियाकरणले यो देशको समृद्धि मार्गमा काफी बाधा पुर्याएको छ । देशवासीले तीन तहको सरकार पाले पनि राज्यको उपस्थिति प्रभावकारी र भरोसायोग्य छैन । आमजनतामा असन्तुष्टि चुलिँदो छ ।
यतिसम्म कि हामीले महँगो कर तिरेर किन तीन–तीन ठाउँमा बोझिलो सरकार पाल्न बाध्य हुनुपरेको हो ? आमनेपालीले खुट्याउन सकेका छैनन् ।
निर्वाचनका बेला लेखिएका र बोलिएका दलका घोषणापत्र रद्दीको टोकरीमा फालिइसके । मतदातालाई आश्वासनका पोका भलिभाँती बाँडेर जितेर गएका दल र नेता हुन् या हारेर बसेकाहरू सबैले मतदाताका घर–आँगन वा तिनका समस्या–गुनासोलाई सम्झने आवश्यकता नै महसुस गरिरहेका छैनन् । वास्तवमा अहिलेको अवस्था भनेको जिम्मेवार भनिएका नेताहरू कर्तव्यपथबाट च्यूत भएको चिन्ताजनक स्थिति हो ।
पारदर्शिता, दूरदर्शिता, लगनशिलता तथा इमानदारीबिना देश र समाजको वास्तविक समृद्धि असम्भव छ । जे होस् गर्न चाहेमा दुनियाँमा असम्भव भन्ने केही पनि छैन । यतिमात्र हो कि नदीको पानी सङ्लो हुनका लागि यसको मूल नै सफा हुनुपर्छ भने रुख बलियो हुन जरा र फेद नै सबल हुन आवश्यक छ ।
आशा छ– बिग्रिएर भीरतर्फ जाँदै गरेको राजनैतिक परिवेशलाई दलहरूले सही मार्गमा ल्याएर शिशु लोकतन्त्रलाई सबल बनाउँदै सुमार्गतिर डोर्याउने छन् र ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्ने उखान चरितार्थ हुनबाट जोगाउने छन् ।
–कृष्ण कुम्पुरे, आदमटार, धादिङ
