एमालेमा फर्किएर भण्डारीले सक्रियता देखाएपछि ओलीलाई आफ्नो अध्यक्ष पद गुम्ने हो कि भन्ने ठूलो चिन्ता छ।
What you should know
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमै फर्किएर सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेदेखि नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भोक निद्रा हराएको छ । ओली आफूलाई मन लागेको कुरा गर्न परे संविधान कानुन केही हेर्दैनन्, अरुले नीति नियमभित्रै रहेर कुनै काम गरे पनि त्यसलाई अनेकथरी अर्थ लगाएर उसैलाई गलत साबित गर्न खोज्छन् ।
आफूले दुई–दुई पटकसम्म संविधनले कल्पना नै नगरेको संसद् विघटन गर्नुलाई उनी बाँचुन्जेल सही गरेको भन्न छोड्नेवाला छैनन् । ओलीले गरेको त्यही असंवैधानिक कामलाई पुनर्विचार गर्नुसम्म नभनी आँखा चिम्लेर स्वीकृति दिने तत्कालीन राष्ट्रपति उनै भण्डारीले यतिबेला आफूले पुनः पुरानै पार्टीमा फर्किएर सक्रिय राजनीति गर्छु भन्दा उनै ओलीसँग सिँगौरी खेल्नु परेको छ ।
ओलीले पार्टीमा फर्कन त के पार्टीतिर पुलुक्क हेर्नसम्म पनि नदिने गरी जुन व्यवहार देखाएका छन्, यसले भण्डारीलाई एमालेको कार्यकर्ता हुँ भन्ने ठाउँ पनि देखिँदैन । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने उनी केवले एमाले समर्थक मात्र हुन् भन्ने देखिन्छ । पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारीले छुट्टै सम्पर्क कार्यालय खोलेर आˆनो सक्रियतालाई अझै अगाडि बढाउन थालेको र एमालेको पार्टी कार्यालय च्यासलमा भन्दा भण्डारीले स्थापना गरेको सम्पर्क कार्यालयमा नेता–कार्यकर्ताको भीड बढी देख्दा ओलीको होस् उडेजस्तो छ ।
केही दिनअगाडि ओलीले पार्टी कार्यालय च्यासलमा मदन आश्रित फाउन्डेसनका नवनियुक्त पदाधिकारीलाई शपथ खुवाउने कार्यक्रम चलिरहँदा पार्टी कार्यालय च्यासलबाट धमाधम उठेर नेता कार्यकर्ता भण्डारीको नयाँ सम्पर्क कार्यालय बानेश्वर थापागाउँतर्फ लाग्ने तरखर गरिरहँदा ओलीले प्रसाद खाएर जानु, प्रसाद नखाई कता जान हिँडेको भनेर आˆनै गुटका नेता–कार्यकर्तालाई भन्नुपर्ने अवस्था आएको थियो ।
ओलीका लागि आज यस्तो दिन आउनुमा उनकै ठूलो हात रहेको छ । किनकि, पार्टीलाई कब्जामा पारेपछि त्यहाँबाट उम्काउने कोही दोस्रो व्यक्तिको खोजी भइरहेको अवस्थामा ओलीलाई तल पारेर आउन सक्ने त्यस्तो उपयुक्त पात्र अरु कोही हुन सक्दैनथ्यो । त्यसैले देशको प्रमुख भइसकेको र पार्टीको पूर्वउपाध्यक्ष समेत भइसकेको व्यक्ति अब पार्टीमा फर्केर राजनीति गर्ने भनेको अध्यक्षकै लागि हो भन्ने सोचेरै ओली आत्तिएका हुन् । पद गुम्ने भयले जोकसैलाई अत्याउँछ । ओली पनि त्यसको अपवाद हुन सक्दैनन् ।
–सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
