देशको शिक्षालाई व्यावहारिक बनाउन नसक्दा समस्या बढ्दै, राज्यले तुरुन्त सुधार गर्न आवश्यक।
काठमाडौँ — गुल्मी जिल्लाको एक विद्यालयमा दर्जन पटकभन्दा बढी विज्ञापन गरे पनि गणित र विज्ञान विषय अध्यापनका लागि शिक्षक भेटिएनन् भन्ने समाचार पढ्दा त्यति अनौठो लागेन । किनकि, पढेका हुन् या नपढेका- दैनिक हजारौंको संख्यामा युवाहरू विदेश पलायन भएपछि यस्ता समस्या अझै चर्केर जानेवाला छ ।
गणित या विज्ञानको मात्र होइन, अब त नेपाली वा सामाजिकजस्ता सामान्य विषयका लागि आवश्यक शिक्षक फेला पार्न पनि फलामको चिउरा चपाएजस्तै हुनेछ ।
देशको मेरुदण्ड भनिएको राजनीति गिजोलिएर लथालिंग अवस्थामा पुगेकाले जताततै निराशा व्याप्त छ । राज्यले नागरिकको सपना र पसिना बेचेर देशको अर्थतन्त्र बल्लतल्ल धानिरहेको अहिलेको तीतो यथार्थ हो । असल र प्रभावकारी शिक्षा तथा दिगो कृषि यो मुलुक निर्माणको महत्त्वपूर्ण खम्बा भएकामा दुइमत छैन । तर यी दुवै क्षेत्रको वर्तमान र भविष्य अन्धकारमा पुगिसक्दा पनि राज्यले कानमा तेल हालेर बसेको छ ।
देशको शिक्षालाई सीपमूलक र व्यावहारिक बनाउन नसकेकाले समस्याले चर्को रूप लिँदै गएको हो । समग्रमा अब राज्यले आमनागरिकमा आशाको किरण भरेर नवयुवालाई देशमै टिकाउनका लागि शिक्षाको अन्तर्वस्तुमा व्यापक सुधार गर्न ढिला गर्नु हुँदैन ।
–कृष्ण कुम्पुरे, आदमटार, धादिङ
