नेपाली भूमिमा दुई ठूला छिमेकीको मनोमानी

नेपालको भूमिमा भारत र चीनबीच व्यापारिक सम्झौताले एक स्वतन्त्र राष्ट्रको अस्तित्वमा गम्भीर चोट पुर्‍याएको छ। देशले कूटनीतिक प्रतिक्रिया दिनुपर्ने बेला आएको छ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Arrogance of two big neighbors in Nepali land

What you should know

काठमाडौँ — नेपाल भूपरिवेष्टित राष्ट्र हो, हाम्रो भौगोलिक नियति नै छिमेकीसँग निर्भर रहनुपर्छ । तर छिमेकीसँग निर्भर हुनु र आफ्नै भूमिमा आफूलाई नै बेवास्ता गरेर छिमेकीले मनमानी गर्नु दुई फरक कुरा हुन् ।

हालै भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिले यही पीडालाई पुनः उजागर गरिदिएको छ । सार्वभौमसत्ता सम्पन्न नेपाललाई थाहै नदिइ आफूखुसी हाम्रो जमिनमा गरिएको व्यापार सम्झौताले एक स्वतन्त्र राष्ट्रको अस्तित्वमै ठाडो चोट पुर्‍याएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमिको अविभाज्य हिस्सा हो भन्ने कुरा संविधानमा आधिकारिक नक्सासहित उल्लेख गरिएको छ । तर, भारत र चीनबीच हुने सहमतिमा नेपाललाई बेवास्ता गर्ने चलन कतिपटक दोहोरिनुपर्छ ? सार्वभौमसत्ता सम्पन्न राष्ट्रका शासक भने मूकदर्शक बनेर हेरिरहन अभिशप्त देखिन्छन् । 

यस्तो संवेदनशील घडीमा प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन्– के अब नेपालले दुवै छिमेकीलाई तत्काल कूटनीतिक नोट पठाउने सहास गर्छ ? के आसन्न चीन र भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्रीले राष्ट्रको सार्वभौमसत्तामाथि भएको ठाडो हस्तक्षेपविरुद्ध आवाज उठाउँदै आफ्नो भ्रमण रद्द गर्ने धैर्य देखाउँछन् ? कि फेरि पनि ‘हेर्दै बस्ने, मौन सहमति दिने’ परम्परागत शैली पछ्याउने हो ?

भारत र चीनले नेपाली भूमिबाट व्यापार गर्ने कुरा केवल वर्तमानको राजनीतिक व्यवहार होइन । यो तत्कालीन राजा महेन्द्र र चीनका राष्ट्रपति ल्यु साओ चीबीच भएको सम्झौताको ठाडो उल्लंघन पनि हो । त्यस सम्झौताले नेपाललाई पूर्ण स्वामित्वको आधारमा सीमाको स्पष्ट परिभाषा दिएको थियो । आज त्यसकै विपरीत बाटो खोल्नु केवल कानुनी मात्र नभई नैतिक र कूटनीतिक बेइमानी पनि हो । 

नेपाल–भारत–चीन त्रिकोणमा बारम्बार हाम्रो भूभागलाई ‘नो–म्यान्स ल्यान्ड’ सरह प्रयोग गर्ने प्रवृत्तिले एउटा कटु पाठ सिकाउँछ–सार्वभौमसत्ता केवल कानुनी शब्द होइन, यसको रक्षा गर्न राजनीतिक इच्छाशक्ति, कूटनीतिक पराक्रम र राष्ट्रिय एकताको बल चाहिन्छ । 

यस्ता घडीमा चुप लाग्नु आत्मसमर्पण हो । समयमै आवाज नउठाउने हो भने भोलि नक्सामा देखिने भूभाग केवल चित्रमा सीमित हुनेछ । त्यसैले अहिले नै निर्णायक कदम चाल्नुपर्ने बेला हो– नत्र इतिहासले वर्तमान नेतृत्वलाई ‘सार्वभौमसत्ता बेच्ने पिँढी’ को रूपमा अंकित गरिदिनेछ । – सन्तोष सिम्खडा, टोकियो, जापान

हामी नेपाली लामो समयदेखि सीमा समस्याबाट पीडित छौं र यसले हाम्रो राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याएको छ । विशेषगरी, लिपुलेकको विषयमा भारत र चीनबीच निरन्तर भइरहेको व्यापारिक सम्झौताले हामीलाई थप चिन्तित बनाएको छ । भारतले सन् १९५४ देखि नै लिपुलेक पास वितरण गरी चीनसँग व्यापार गरिरहेको कुरा सर्वविदितै छ । नेपालले आफ्नो भूभागमाथिको अधिकार र ऐतिहासिक प्रमाण बारम्बार प्रस्तुत गरे पनि भारतले त्यसलाई मानेको छैन र उल्टै यस क्षेत्रलाई आफ्नो दाबी गरिरहेको छ । 

नेपालले ‘चुच्चे नक्सा’ जारी गरेर आफ्नो भूमि भएको वास्तविकता उजागर गरिसकेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन लागेको चीन र भारत भ्रमणमा लिपुलेकको मुद्दालाई सधैंका लागि समाधान गर्ने गरी वार्ता गर्ने राम्रो अवसर छ । यो भ्रमणलाई केवल औपचारिकतामा सीमित नगरी प्रधानमन्त्रीले दुवै छिमेकी देशका शीर्ष नेतृत्वसँग दृढतापूर्वक यस विषयमा छलफल गर्नुपर्छ र आफ्ना कुरा राख्नुपर्छ । अब सरकारले राजनीतिक स्वार्थभन्दा माथि उठेर देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि ठोस बहस, पहल र पैरवी गर्ने समय आएको छ । – प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

कान्तिपुरमा प्रकाशित ‘फेरि दुख्यो लिम्पियाधुरा’ शीर्षक समाचार पढ्दै मन कटक्क भयो । वास्तवमा नेपाल–भारत सम्बन्धमा सधैं बिजाइरहने र गहिरो घाउ भनेकै सीमा विवाद हो । जुन लामो समयदेखि चलिरहेको छ । नेपाली भूमि हडपेर भारतले मिचाहा प्रवृत्ति देखाइरहेको छ । सन् १८१६ को सन्धिपश्चात् नेपालले धेरै भूभाग गुमायो । तैपनि पश्चिमी क्षेत्रको लिपुलेक र लिम्पियाधुरा भने नेपालकै हो भनेर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा उक्त भूभागलाई नक्सामा समेट्ने काम भएको थियो । अहिले चीन र भारतले नेपालको त्यही भूभाग हुँदै व्यापारिक सम्झौता गर्ने सहमति गरेपछि यो विषय थप पेचिलो बनेको छ । 

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो भन्ने कुरामा द्विविधा छैन । नेपालले अब आफ्नो सार्वभौम अधिकार सुरक्षित गर्न ठोस रणनीति बनाउनुपर्छ । यसमा अन्तर्राष्ट्र्रियस्तरमा कूटनीतिक पहल, राष्ट्र्रिय एकता, जनस्तरमा दबाब सिर्जना गर्नु पनि जरुरी छ । अब जनता पनि सार्वभौम र राष्ट्रियताका लागि लड्ने बेला आएको छ । अब हाम्रो भूभाग केवल नक्सामा मात्र सीमित नहोस् । अन्यथा कहिल्यै निको नहुने घाउको व्यथा झन्झन् बल्झिँदै जाने निश्चित छ । – खिमराज गिरी, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully