नक्कली र वास्तविक सुकुम्बासी छुट्याउने जिम्मेवारी राज्यकै हो
What you should know
वर्षायामको असहज समयमा झुप्रा–छाप्रा भत्काउँदै गरिब किसान, मजदुर, दलित र सुकुम्बासी परिवारलाई सडकमा धकेल्ने कार्य कुनै पनि हिसाबले न्यायसंगत छैन ।
विपन्न परिवार भिजेको टिन र छानामुनि बालबच्चालाई जोगाउँदै बसिरहेका बेला डोजरको गर्जनले उनीहरूको ओतमात्र होइन, आत्मसम्मानसमेत खोस्ने काम गरेको छ । सत्य यो पनि हो कि सुकुम्बासीका नाममा केही ‘हुकुम्बासी’ छन्, जसले भूमि अतिक्रमणलाई धन्दा बनाएर लाभ उठाएका छन् । तर त्यस बहानामा दशकौंदेखि त्यही जमिनमा पसिना बगाएर जीवनयापन गरिरहेका वास्तविक पीडितलाई उठीबास लगाउनु अमानवीय काम हो । नक्कली र वास्तविकलाई छुट्याउने जिम्मेवारी राज्यकै हो तर सजिलो बाटो रोज्दै बलजफ्ती डोजर चलाउनु असक्षम नेतृत्वको परिचायक हो ।
संविधानले नागरिकलाई आवास र भूमि अधिकारको प्रत्याभूति गरेको छ । तर व्यवहारमा भने गरिबको छाना भत्काएर सत्ताले आफूलाई शक्तिशाली देखाउन खोज्नु संविधानको आत्माविपरीत कदम हो । यसले गरिबलाई अझ निराश बनाएको छ र राज्यप्रतिको विश्वासलाई कमजोर पारेको छ । सहर सुन्दर बनाउन नदी किनारका अव्यवस्थित टहरा भत्काउनैपर्छ, राजधानीभित्र रहेका कबाडी कारखानालाई बाहिर सार्नैपर्छ र पशुपक्षी काट्ने कामलाई निस्तेज गर्नैपर्छ भन्नेमा दुईमत छैन । व्यवस्थित सहर सबैको चाहना हो । तर यस्ता कार्य गर्दा त्यसको विकल्प दिनु राज्यको दायित्व हो । अव्यवस्थित टहरा भत्काइएपछि त्यहाँ बस्नेहरूको पुनर्वास कसरी हुन्छ ? कबाडी कारखाना बाहिर सार्दा त्यहाँ काम गर्ने श्रमिकहरूको जीविका कहाँ पुग्छ ? पशुपक्षी काट्ने केन्द्र हटाउँदा त्यसमा निर्भर मानिसको पेसागत विकल्प के हुन्छ ? यी प्रश्नको जवाफ दिनैपर्छ ।
समस्या समाधानका लागि वैकल्पिक उपाय स्पष्ट छन् । पहिलो, वास्तविक पीडित र नक्कली दाबेदार छुट्याएर न्यायोचित ढंगले पहिचान गर्नुपर्छ । दोस्रो, तत्काल उठीबास लगाउनुभन्दा अघि वर्षायाम सकिएपछि मात्र व्यवस्थित पुनर्वास कार्यक्रम सञ्चालन गर्न सकिन्छ । तेस्रो, पुस्तौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई लालपुर्जा वितरण गरेर उनको हकअधिकार सुरक्षित गर्नुपर्छ । चौथो, महानगर र नगरपालिकाले दीर्घकालीन आवास नीति ल्याउनुपर्छ, जसबाट विपन्न परिवार कानुनी ढंगले बस्न सकून् । र पाँचौं, सबै प्रक्रिया संवाद र सहभागितामार्फत अघि बढाउनुपर्छ । डोजर चलाएर संवेदनशील समस्या समाधान हुँदैन । सहरलाई आधुनिक, सफा र व्यवस्थित बनाउन सबैको सहमति छ तर त्यसको बोझ गरिबले मात्र बहन गर्नुपर्नेचाहिँ दुःखद् कुरा हो । राज्यले विकल्पसहितको योजना प्रस्तुत नगरेसम्म डोजरको गर्जन न्याय होइन, क्रूरता मात्र हुनेछ ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
