वर्षायाममा डोजर आतंक बन्द गर !

नक्कली र वास्तविक सुकुम्बासी छुट्याउने जिम्मेवारी राज्यकै हो

भाद्र ३, २०८२

पाठक पत्र

Stop dozer terror in the rainy season!

What you should know

वर्षायामको असहज समयमा झुप्रा–छाप्रा भत्काउँदै गरिब किसान, मजदुर, दलित र सुकुम्बासी परिवारलाई सडकमा धकेल्ने कार्य कुनै पनि हिसाबले न्यायसंगत छैन ।

विपन्न परिवार भिजेको टिन र छानामुनि बालबच्चालाई जोगाउँदै बसिरहेका बेला डोजरको गर्जनले उनीहरूको ओतमात्र होइन, आत्मसम्मानसमेत खोस्ने काम गरेको छ । सत्य यो पनि हो कि सुकुम्बासीका नाममा केही ‘हुकुम्बासी’ छन्, जसले भूमि अतिक्रमणलाई धन्दा बनाएर लाभ उठाएका छन् । तर त्यस बहानामा दशकौंदेखि त्यही जमिनमा पसिना बगाएर जीवनयापन गरिरहेका वास्तविक पीडितलाई उठीबास लगाउनु अमानवीय काम हो । नक्कली र वास्तविकलाई छुट्याउने जिम्मेवारी राज्यकै हो तर सजिलो बाटो रोज्दै बलजफ्ती डोजर चलाउनु असक्षम नेतृत्वको परिचायक हो । 

संविधानले नागरिकलाई आवास र भूमि अधिकारको प्रत्याभूति गरेको छ । तर व्यवहारमा भने गरिबको छाना भत्काएर सत्ताले आफूलाई शक्तिशाली देखाउन खोज्नु संविधानको आत्माविपरीत कदम हो । यसले गरिबलाई अझ निराश बनाएको छ र राज्यप्रतिको विश्वासलाई कमजोर पारेको छ । सहर सुन्दर बनाउन नदी किनारका अव्यवस्थित टहरा भत्काउनैपर्छ, राजधानीभित्र रहेका कबाडी कारखानालाई बाहिर सार्नैपर्छ र पशुपक्षी काट्ने कामलाई निस्तेज गर्नैपर्छ भन्नेमा दुईमत छैन । व्यवस्थित सहर सबैको चाहना हो । तर यस्ता कार्य गर्दा त्यसको विकल्प दिनु राज्यको दायित्व हो । अव्यवस्थित टहरा भत्काइएपछि त्यहाँ बस्नेहरूको पुनर्वास कसरी हुन्छ ? कबाडी कारखाना बाहिर सार्दा त्यहाँ काम गर्ने श्रमिकहरूको जीविका कहाँ पुग्छ ? पशुपक्षी काट्ने केन्द्र हटाउँदा त्यसमा निर्भर मानिसको पेसागत विकल्प के हुन्छ ? यी प्रश्नको जवाफ दिनैपर्छ । 

समस्या समाधानका लागि वैकल्पिक उपाय स्पष्ट छन् । पहिलो, वास्तविक पीडित र नक्कली दाबेदार छुट्याएर न्यायोचित ढंगले पहिचान गर्नुपर्छ । दोस्रो, तत्काल उठीबास लगाउनुभन्दा अघि वर्षायाम सकिएपछि मात्र व्यवस्थित पुनर्वास कार्यक्रम सञ्चालन गर्न सकिन्छ । तेस्रो, पुस्तौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई लालपुर्जा वितरण गरेर उनको हकअधिकार सुरक्षित गर्नुपर्छ । चौथो, महानगर र नगरपालिकाले दीर्घकालीन आवास नीति ल्याउनुपर्छ, जसबाट विपन्न परिवार कानुनी ढंगले बस्न सकून् । र पाँचौं, सबै प्रक्रिया संवाद र सहभागितामार्फत अघि बढाउनुपर्छ । डोजर चलाएर संवेदनशील समस्या समाधान हुँदैन । सहरलाई आधुनिक, सफा र व्यवस्थित बनाउन सबैको सहमति छ तर त्यसको बोझ गरिबले मात्र बहन गर्नुपर्नेचाहिँ दुःखद् कुरा हो । राज्यले विकल्पसहितको योजना प्रस्तुत नगरेसम्म डोजरको गर्जन न्याय होइन, क्रूरता मात्र हुनेछ । 

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully