सीता जन्मस्थानबारे भ्रम किन !

भारत सरकारको महत्त्वाकांक्षी योजना ‘रामायण सर्किट’ मा सीताको जन्मभूमिका रूपमा बिहारको सीतामढीलाई चित्रण

भाद्र २, २०८२

पाठक पत्र

Why confusion about Sita birthplace!

राजा जनककी ज्येष्ठ सुपुत्री थिइन्– सीता । उनको विवाह अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् रामसँग भएको थियो । यस्ता अनेकन् रामायणको जानकारी हामीले पढ्दै आएका छौं । हाम्रा पाठ्यपुस्तकमा होस् वा रामायणका कथा र टेलिभिजनका दृश्यहरूमा हामीले हेर्दै आएको कुरा पनि यही हो ।

सीतालाई हाम्रो देशको राष्ट्रिय विभूति पनि घोषणा गरिएको छ । तर हाम्रो मित्रराष्ट्र भारतले यस कुरालाई अहिले भ्रमपूर्ण ढंगले प्रचार गरिरहेको छ । भारत सरकारको महत्त्वाकांक्षी योजना ‘रामायण सर्किट’ मा सीताको जन्मभूमिका रूपमा बिहारको सीतामढीलाई चित्रण गरिएको छ । भारतको केन्द्रीय पर्यटन मन्त्रालयको यो ठूलो र महत्त्वपूर्ण योजनामा भारतका ९ राज्यका १५ स्थानलाई समावेश गरिएको छ । 

भगवान् रामसँग जोडिएको स्थानलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय पर्यटन तथा आर्थिक विकासका निम्ति भनेर सुरु गरिएको यो ‘रामायण सर्किट’ भारतको ठूलो योजना हो । यस्तो महत्त्वपूर्ण योजनामा सीताको जन्मस्थानबारे गलत प्रचारबाजी गरिनु दुःखदायी विषय हो । भारतीय प्रमुख नेताहरू र सत्तासीन दलका कतिपय मन्त्रीले सीता जन्मस्थानबारे दिएका सार्वजनिक अभिव्यक्ति वास्तवमा आपत्तिजनक छन् । नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनु जरुरी छ । 

पर्वत सञ्जेल, धरान–१७, सुनसरी

पाठक

Link copied successfully