देशको एक नागरिकको जीवनरक्षाभन्दा पनि सत्ता स्वार्थ महत्त्वपूर्ण ठान्नु सरकारको नैतिक पतन पनि हो ।
हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई सकुशल फिर्ता ल्याउन अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारले विपिनका आमा र बहिनीलाई राष्ट्रसंघसम्म पुर्याएको समाचारले इजरायल सरकारको सक्रियता र संवेदनशीलता देखाउँछ ।
तर, यसको ठीक विपरीत हाम्रो आफ्नै सरकारको भूमिका भने लज्जास्पद र निराशाजनक छ । विपिनलाई मुक्त गर्ने सवालमा नेपाल सरकारको उपस्थिति फितलो र निष्क्रिय देखिएको छ । इजरायल सरकारले विपिनको परिवारलाई सहयोग गरेर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने प्रयास गरिरहेको छ । तर हाम्रो सरकार भने आन्तरिक राजनीतिक खिचातानी र सत्ताको लुछाचुँडीमा मात्रै व्यस्त छ ।
देशको एक नागरिकको जीवनरक्षाभन्दा पनि सत्ता स्वार्थ महत्त्वपूर्ण ठान्नु सरकारको नैतिक पतन पनि हो । यो कुनै सामान्य घटना होइन । यो देशको एक नागरिकको जीवनसँग जोडिएको विषय हो । सरकारले आफ्ना नागरिकको सुरक्षा र कल्याणलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ । तर, यस घटनामा हाम्रो सरकारले आफ्नो दायित्व पूर्ण रूपमा बिर्सिएजस्तो देखिएको छ । विपिनका आमा र बहिनीले जुन पीडा र संघर्ष गरिरहेका छन्, त्यो राज्यको असफलताको ज्वलन्त उदाहरण हो ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला
