शिक्षा ऐन कसका लागि हो सरकार ?

जबसम्म विद्यार्थी केन्द्रित ऐन बन्दैन, तबसम्म जस्तो ऐन ल्याए पनि त्यसको कुनै अर्थ रहन्न ।

श्रावण २८, २०८२

पाठक पत्र

Education Act for whom is the government?

What you should know

विगत ५४ वर्षदेखि नफेरिएको शिक्षा ऐन नेपालको संविधानको मर्मअनुरूप नयाँ निर्माण गर्ने थालनी भएको पनि पाँच वर्ष नाघिसकेको छ तर पनि ऐन बन्न नदिने वा बने पनि आफ्नै स्वार्थसिद्ध गर्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर आफ्नै पक्षमा पार्न उद्यत मण्डलहरू सल्बलाइरहेछन् ।

गर्भावस्थामा नै यो हर्कत गर्ने र सरकारलाई अप्ठेरोमा पार्ने गरी सडक आन्दोलन हुनु र आन्दोलनका शतप्रतिशत माग ‘बाह्रै टक्का’ हुनुपर्ने आवाज अझै मत्थर भएको देखिन्न । यसको मूल कारण सरकार अक्षम हुनु एउटा पाटो हो भने शिक्षामन्त्रीको खुट्टा दह्रो हुन नसक्नु अर्को कारण हो । देशको शिक्षा नीतिकै बारेमा नेपालका शिक्षामन्त्रीहरूको ढुलमुले बुझाइ अर्को कारण मान्न सकिन्छ । यसैको फाइदा उठाउन शिक्षा विधेयकको छलफलमा अनेक तिकडम मच्चाइए ।

सरकार अक्षम भएको प्रमाण त तीन वर्षअघि संविधानविपरीत आन्दोलनरत पक्षसँग भएको सम्झौता नै काफी छ । पुनश्चः केही महिनाअगाडिका मण्डल मण्डलका आन्दोलनमा जे पनि हुन्छ भनेर पठाएको उदाहरण ताजै छ । जुन मण्डल भए पनि एउटा पूर्णतः राजनीतिक तवरले अघि बढेको देखिन्छ भने अर्को व्यापारिक प्रवृत्तिले । तर दुवैको अडानभित्र विद्यार्थीको गुणस्तरीय पठनपाठन परेकै छैन ।

सरकारका मन्त्रीहरू आफ्नो चुनावी खर्च नउठ्ने र बेलाबेलामा पाइने उपहार डुब्ने डरले एकातर्फ थर्थरी काँप्दै व्यापारिक प्रवृत्तिका मण्डलसँग झुक्ने गरेका छन् भने भोट बैंक घट्ने डरले राजनीतिक प्रवृत्तिका मण्डलसँग झुक्ने गरेको कुरा घामजत्तिकै छर्लंग छ । यही चालाले गर्दा नै नेपालको संविधानबमोजिम बन्नुपर्ने शिक्षाको नयाँ ऐन बन्न नसकेको हो भनेर ठोकुवा गर्न कुनै साइत जुराइरख्नु पर्दैन ।

कृपांकका आधारमा कक्षा १० र कक्षा १२ को परीक्षाको नतिजाले कतिन्जेल लाज छोपिराख्ने हो सरकार ? सबै उदांगो नै छ । विद्यार्थीको क्षमता बढेकै छैन भनेर शिक्षा मन्त्रालयको अनुसन्धानले अझै भनिराखेकै छ ।

जबसम्म विद्यार्थी केन्द्रित ऐन बन्दैन, तबसम्म जस्तो ऐन ल्याए पनि त्यसको कुनै अर्थ रहन्न । राजनीतिक दलका झोले मण्डल आफ्नै स्वार्थमा तल्लीन देखिन्छ भने व्यापारिक प्रवृत्तिको मण्डल सरकार नै किन्न सक्छु जस्तो घमण्ड गर्दै छ । संविधान बाझिने गरी राखिने माग, सरकारको नीति नियम मान्दिनँ भन्ने माग वा अघि भनेजस्तै ‘बाह्रै टक्का’ को अडान नेपालको संविधान २०७२ को खिलाफ हुनेछ र त्यसले न सरकारलाई न विद्यार्थीको भविष्यलाई भरथेग गर्न सहयोग मिल्दछ । 

मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

पाठक

Link copied successfully