बाहिरी जनसमर्थनले मानिसलाई ठाउँमा पुर्याउन सहयोग गर्ने हो तर ठाउँमा पुगिसकेपछि आफ्ना आफन्त र साथीभाइले उहीँ पुगेर काम गरिदिने होइन ।
What you should know
प्रायः राजनीतिक क्षेत्रभन्दा बाहिरबाट आएका मानिसहरूकै बाहुल्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बौद्धिकता भएका तर राजनीतिको अनुभव कम भएका नेताहरूको जमात ठूलो छ । स्वयं पार्टी सभापति रवि लामिछानेमा राजनीतिक ज्ञान खासै रहेनछ भन्ने उनका विगतले देखाइसकेको छ ।
दुई–दुई पटक उपप्रधानसहित गृह मन्त्रालयको जिम्मा लिएर सरकारमा गएका लामिछानेले गृहमन्त्रीको हैसियतमा होस् या सरकारबाहिरै रहेका बेला संसद्मा गरेका सम्बोधनले उनमा राजनीतिक अपरिपक्वता देखिन्थ्यो । बाहिरी जनसमर्थनले मानिसलाई ठाउँमा पुर्याउन सहयोग गर्ने हो तर ठाउँमा पुगिसकेपछि आफ्ना आफन्त र साथीभाइले उहीँ पुगेर काम गरिदिने होइन । जोकोहीलाई पनि जनमतले ठाउँमा पुर्याइदिएपछि उसको कार्यसम्पादनले उसले जनतालाई नतिजा दिन सक्नुपर्छ । यद्यपि लामिछानेमा भएको त्यही दम्भले काम गर्न चाहेको देखिएन या गर्न सकेनन् । उनका दुई कार्यकालमा खासै उपलब्धिमूलक कुनै कामको सुरुवात भएको पाइएन । उनमा जनमत आफ्नो पक्षमा भएको एकोहोरो दम्भ रहेको देखियो ।
कुनै न कुनै कुरामा ‘स्टन्ट’ देखाउन खोज्ने र त्यसको क्षणिक प्रतिफलले समाजमा आफू हाइहाइ हुने प्रवृत्ति लामिछानेमा व्यापक छ । जस्तो कि उनले चितवन निर्वाचन क्षेत्र नं. २ का महिलालाई लक्षित गरी सुरु गरेको ब्लु बस सेवा, पार्टीका केन्द्रीय सदस्य र सांसदलाई पाँच दिनसम्म सार्वजनिक यातायातमा हिँड्न लगाएको उर्दी, पार्टी सभापतिलाई प्रतिशोधका आधारमा थुनामा राखेको भन्दै आफ्नो पक्षमा समर्थन जुटाउनका लागि हस्ताक्षर संकलन गर्न लगाउनेजस्ता कुरा केवल क्षणिक ‘स्टन्ट’ का लागि चालिएका कदम हुन् ।
यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्, रास्वपाले यस्ता ‘स्टन्ट’ बाजीका काम बेलाबेला थुप्रै गर्दै आइरहेको छ । जसले जनतालई भुलाउने र अन्य दलप्रतिको विश्वास गिराउने कामबाहेक केही गरेको छैन । यस्ता कार्यले पार्टीको साख बढाउँदैन । रास्वपा यहाँसम्म आउनुमा उसको आफ्नै क्षमता या उसमा भएको सर्वसम्पन्न गुणले काम गरको होइन, उसलाई यत्तिको बनाउन र यहाँसम्म ल्याउन सहयोग पुर्याउने काम अन्य पार्टीप्रति जनताको गिर्दो साखले काम गरेको हो ।
रास्वपाले ‘स्टन्ट’ बाजीलाई निरन्तरता दिने क्रममा पछिल्लो समय दुई वटा प्रकरणलाई अगाडि ल्यायो । जसमध्ये पहिलो थियो– केही दिन अगाडि सामाजिक सञ्जाल र केही मिडियामा समेत छ्यापछ्याप्ती बनाइएको एउटा कोठाको तस्बिर । जुन कोठामा आफ्ना पार्टी सभापतिलाई राखिएको र जसमा हावा छिर्ने ठाउँसमेत नभएको भनेर झ्यालमा समेत प्लाइउड ठोकिएको कुनै कोठाको तस्बिरको प्रचार गराइयो । आखिर त्यो रवि लामिछानेलाई राखिएको कोठा होइन भनेर सम्बन्धित कारागारले विज्ञप्ति नै प्रेषित गर्नुपर्ने अवस्था आयो । त्यसैगरी दोस्रो प्रकरण थियो– जनै पूर्णिमाको दिन लामिछानेको कटआउट तस्बिरमा उनका शुभेच्छुकले रक्षाबन्धन गरेको नौटंकी । यस्ता क्षणिक चर्चा कमाउने खालका प्रकरणले आगामी दिनमा पार्टीलाई फाइदाभन्दा घाटातिर डोर्याउनेमा शंका छैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
