हाम्रो राजनीतिमा बढ्दो छ ‘जेरोन्टोक्रेसी’ को प्रभाव

नेपाली राजनीतिमा लामो समयदेखि ‘जेरोन्टोक्रेसी’ अर्थात् वृद्धहरूको शासन हाबी

श्रावण २७, २०८२

पाठक पत्र

The influence of 'gerontocracy' is increasing in our politics

What you should know

‘डेमोक्रेसी कि ‘जेरोन्टोक्रेसी’ ?’ भन्ने आलेख गज्जब लाग्यो । यस लेखमा उठाइएको राजनीतिक नेतृत्वमा पुरानो पुस्ताको अत्यधिक पकड र नयाँ पुस्तालाई अवसरको कमी दिइएको विषयमा उठाइएको सवाल समसामयिक र गम्भीर लाग्यो ।

नेपाली राजनीतिमा लामो समयदेखि ‘जेरोन्टोक्रेसी’ अर्थात् वृद्धहरूको शासन हाबी छ । यसले गर्दा दलहरूमा नयाँ विचार र ऊर्जाको प्रवेश हुन सकेको छैन । जसले गर्दा गतिशील र योग्य नेतृत्व विकास हुनै सकेको छैन । राजनीतिक निर्णयमा वृद्ध नेताहरूको नियन्त्रणले गर्दा पार्टी र सरकार दुवैले युग सुहाउँदो नीति र कार्यक्रम ल्याउन सकेका छैनन् । यसको प्रत्यक्ष असर देशको विकास र सुशासनमा पनि परिरहेको छ । 
एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हदको विषयले यस मुद्दालाई थप सान्दर्भिक बनाएको छ । यस बहसले पार्टीको सांगठनिक संरचना, पदाधिकारी संख्या र कार्यकालमा सुधारको आवश्यकता दर्शाउँछ । तर, यस्ता प्रस्ताव केवल बहसको विषय मात्र नबनी कार्यान्वयनमा आउनु जरुरी छ । 

हाम्रो देशमा युवाहरूको ठूलो हिस्सा विदेश पलायन भइरहेको छ । यसको एउटा प्रमुख कारण राजनीतिक नेतृत्वमा उनीहरूको पहुँच नहुनु पनि हो । पार्टीहरूले युवाहरूलाई नेतृत्व विकासको अवसर प्रदान नगर्ने हो भने हामीले दक्ष र ऊर्जावान् जनशक्तिलाई सधैंका लागि गुमाउनेछौं । राजनीतिक दलहरूले ‘एक्जिट पोलिसी’ को व्यवस्था लागू गर्नुपर्छ । यसले निश्चित उमेर र कार्यकालपछि नेतृत्वबाट बाहिरिने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको विकास हुन्छ । यसले गर्दा पार्टीहरूमा नेतृत्व विकासको स्वस्थ प्रतिस्पर्धा पनि सिर्जना हुन्छ र लोकतन्त्र थप बलियो हुन्छ । 

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक पत्र

Link copied successfully