नेपाली राजनीतिमा लामो समयदेखि ‘जेरोन्टोक्रेसी’ अर्थात् वृद्धहरूको शासन हाबी
What you should know
‘डेमोक्रेसी कि ‘जेरोन्टोक्रेसी’ ?’ भन्ने आलेख गज्जब लाग्यो । यस लेखमा उठाइएको राजनीतिक नेतृत्वमा पुरानो पुस्ताको अत्यधिक पकड र नयाँ पुस्तालाई अवसरको कमी दिइएको विषयमा उठाइएको सवाल समसामयिक र गम्भीर लाग्यो ।
नेपाली राजनीतिमा लामो समयदेखि ‘जेरोन्टोक्रेसी’ अर्थात् वृद्धहरूको शासन हाबी छ । यसले गर्दा दलहरूमा नयाँ विचार र ऊर्जाको प्रवेश हुन सकेको छैन । जसले गर्दा गतिशील र योग्य नेतृत्व विकास हुनै सकेको छैन । राजनीतिक निर्णयमा वृद्ध नेताहरूको नियन्त्रणले गर्दा पार्टी र सरकार दुवैले युग सुहाउँदो नीति र कार्यक्रम ल्याउन सकेका छैनन् । यसको प्रत्यक्ष असर देशको विकास र सुशासनमा पनि परिरहेको छ ।
एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हदको विषयले यस मुद्दालाई थप सान्दर्भिक बनाएको छ । यस बहसले पार्टीको सांगठनिक संरचना, पदाधिकारी संख्या र कार्यकालमा सुधारको आवश्यकता दर्शाउँछ । तर, यस्ता प्रस्ताव केवल बहसको विषय मात्र नबनी कार्यान्वयनमा आउनु जरुरी छ ।
हाम्रो देशमा युवाहरूको ठूलो हिस्सा विदेश पलायन भइरहेको छ । यसको एउटा प्रमुख कारण राजनीतिक नेतृत्वमा उनीहरूको पहुँच नहुनु पनि हो । पार्टीहरूले युवाहरूलाई नेतृत्व विकासको अवसर प्रदान नगर्ने हो भने हामीले दक्ष र ऊर्जावान् जनशक्तिलाई सधैंका लागि गुमाउनेछौं । राजनीतिक दलहरूले ‘एक्जिट पोलिसी’ को व्यवस्था लागू गर्नुपर्छ । यसले निश्चित उमेर र कार्यकालपछि नेतृत्वबाट बाहिरिने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको विकास हुन्छ । यसले गर्दा पार्टीहरूमा नेतृत्व विकासको स्वस्थ प्रतिस्पर्धा पनि सिर्जना हुन्छ र लोकतन्त्र थप बलियो हुन्छ ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला
