असल योजना, भावना र विचार प्रचार/कार्यान्वयन हुन सकेका छैनन्
What you should know
पौराणिक मान्यताअनुसार ४ लाख ३२ हजार वर्षको कलियुग अहिले ५ हजार १ सय २६ वर्षमा चल्दै छ । भनिन्छ– यो युगमा धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, जीवनको समय र शारीरिक शक्ति क्रमशः घट्दै जान्छ ।
मानिसहरू स्वार्थी, लोभी र झगडालु हुन्छन् । यो समग्र विश्वको कुरो हो । वास्तवमा यस्तै हुँदै आएको पनि छ र यो कुरा विशेषतः राजनीतिका नाममा देखिएको छ । अझ हाम्रो देशको राजनीतिक सन्दर्भमा त यो कथन सबभन्दा बढी लागू भएको हुन सक्छ । तर यहीं पनि सबैतिर यस्तो छैन ।
यहाँ कतिपय निःस्वार्थी र दयालु समाजसेवी पनि छन् । तिनले असहाय बालक, वृद्ध, सडक मानवलाई उद्धार गरेर विभिन्न नाममा स्थापना गरिएका मानव कल्याण संस्थामा राखी सेवामूलक मानवीय काम गरेका छन् । कतिपयले छाडा चौपायाको संरक्षण गरेका छन् । कतिले भोकालाई भोजनको व्यवस्था गरेका छन् । त्यस्ता समाजसेवी र मानवतावादीका लागि सहयोगी हात पनि जुट्ने गरेका छन् । कतिले मानिसलाई स्वस्थ र निरोगी हुनका लागि योगको प्रचारप्रसार अभियान चलाएका छन् ।
हाम्रा मन र आँखाले नराम्रा कामकुरा चाहिँ छिटो देख्छन् क्यारे ! नत्र निजामती हुन् वा जंगी, यहाँ असल कर्मचारी तथा पदाधिकारी पनि छन् । हरेक राजनीतिक पार्टीमै पनि कतिपय असल नेता छन् । तर एउटा कुरा के सत्य हो भने– ती जति पनि छन्, सबै शक्तिबाहिर छन् । कतिपयलाई शक्तिहीन पनि बनाइएको छ । त्यसैले तिनका असल योजना, भावना र विचार प्रचार/कार्यान्वयन हुन सकेका छैनन् ।
दिनदिनै नहुनुपर्ने चर्चा परिचर्चा र प्रचारप्रसार जति भएको छ, राजनीतिक शक्ति र गतिविधिकै भएको छ । विकृति, विसंगति र बदमासीकै भएको छ । हामी फगत पढ्ने, सुन्ने र हेर्ने पात्र भएका छौं ।
भनिन्छ– अरूले गरेका नराम्रा कामको प्रभाव कम गर्न हामीले राम्रा काम गर्नुपर्छ । त्यसैले आजको पुस्तालाई असल बनाउन, नैतिक शिक्षा, संस्कार शिक्षा, मानवीय मूल्यको शिक्षा दिने अभियानको थालनी पनि यहाँका असल नागरिकले नै थाल्नु आवश्यक छ ।
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
