जनतामा घोर निराशा र आक्रोश

देशलाई ऋणमा डुबाएर मोजमज्जा गर्नेहरूको समय लम्बिँदै गएको देख्दा हामीकहाँ विद्रोह गर्न ढिला भएको हो कि भन्ने पनि लाग्छ ।

श्रावण २३, २०८२

पाठक पत्र

Great disappointment and anger among the people

नेताहरूका लागि संविधानतः व्यवस्था गरिएका सुविधा देख्दा जोसुकै नेपालीलाई पनि रिस उठ्छ । त्यतिले नपुगेर भइरहेका अनेक भ्रष्टाचार, काण्ड, अन्याय, अराजकता देख्दा झनै कन्सिरी तातेर आउँछ ।

यसरी हामीले तिरेको करको दुरुपयोग भइरहेको देख्दा कर पनि तिर्न मन लाग्दैन । यस्तै असह्य भएर नै श्रीलंका, बंगलादेशका जनताले विद्रोह गरेका हुन् । देशलाई ऋणमा डुबाएर मोजमज्जा गर्नेहरूको समय लम्बिँदै गएको देख्दा हामीकहाँ विद्रोह गर्न ढिला भएको हो कि भन्ने पनि लाग्छ । तर यो कुरा हामी सामान्य जनताले भनेर त के, महावीर पुन र सन्दुक रुइतजस्ता अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका महानुभावले भन्दासमेत सुनिएको छैन ।

जनतामा बढेको घोर निराशा र आक्रोश देखेपछि हाम्रा नेतामा थोरै भए पनि कर्तव्यबोध हुनुपर्ने हो । ‘हामीलाई जनताले विश्वास, भरोसा र आशा गरी भोट दिएर पठाएका हुन्’ भन्ने कुरा पनि मनमा आउनुपर्ने हो । एक दिन मरिन्छ भन्ने ज्ञान पनि आउनुपर्ने हो । तर त्यस्तो केही पनि नभएर सबै दलका नेतामा खालि आफू कसरी माथि जाने, पदमा कसरी टिक्ने, कसरी सुविधा लिने भन्ने मात्रै देखिएको छ । हाम्रा केही नेतामा सत्तामा हुँदा सुशासनमा ध्यान नदिएरै समय बिताउने अनि सत्ताबाहिर भएपछि विरोध गरेर समय बिताउने प्रवृत्ति पनि देखिँदै छ ।

– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा 

पाठक

Link copied successfully