उपचार खर्चमा सहुलियत कहिले ?

संविधानमा लेख्दैमा हुँदैन, त्यसलाई कार्यान्वयन पनि गर्नुपर्‍यो

श्रावण २१, २०८२

पाठक पत्र

When is the discount on treatment costs?

What you should know

संविधानमा उल्लेख छ– सर्वसुलभ उपचारका लागि कोही नेपाली नागरिक तड्पिन पर्दैन तर व्यवहारमा त्यो देखिँदैन । यसबारे न सरकार बोल्छ, न त अनुगमन छ ।

जसले जे गर्दा पनि भएको छ । स्वास्थ्यमन्त्री छन्, स्वास्थ्य मन्त्रालय छ, त्यहाँ कार्यरत कर्मचारी छन् तर तिनीहरूले कहिल्यै जनहितमा काम गर्न सकेका छैनन् । मिडियामा बोल्दा मिठा शब्द प्रयोग गर्छन् तर नीति निर्माण भने गर्दैनन् । 

अहिले देखिएको समस्या भनेको, सरकारी अस्पतालमा उपचार गराउन सजिलो छैन, निजीमा उपचार गराउन सकिँदैन अनि सर्वसुलभ उपचार नागरिकले कसरी पाउने ? संविधानमा लेख्दैमा हुँदैन, त्यसलाई कार्यान्वयन पनि गर्नुपर्‍यो । 

एउटा बिरामीलाई सरकारी अस्पतालमा अप्रेसन गर्नुपर्‍यो भने ६ महिनाको समय दिन्छन् । ६ महिनासम्म त्यो बिरामीको हालत के होला भन्नेतर्फ सोचौं त ! अर्को दुःखलाग्दो कुरा के पनि छ भने, यदि त्यही बिरामीको पहुँच पुग्यो भने तुरुन्तै अप्रेसन गरिन्छ । पहुँचकै भरमा चलेका यस्ता सरकारी अस्पताल सर्वसाधारणका लागि कहिले बन्ने ?

कतिपय स्थानीय तहले उपचारका लागि भनेर नगर अस्पताल खोलेका छन् । त्यहाँ केही हदसम्म राहत मिल्छ तर भनेजस्तो उपचार त्यहाँ पनि पाइँदैन । टिकटका लागि बिहान ३ बजेदेखि लाइन बस्नुपर्छ । डाक्टरले बिरामीलाई राम्रोसँग हेर्न भ्याउँदैनन्, चाप त्यत्तिकै धेरै छ अनि राम्रो उपचार कसरी पाउने ? अर्को समस्या भनेको कतिपय नगरपालिकाभित्र रहेका अस्पतालले नगरपालिकासँग स्वास्थ्य उपचारका लागि सम्झौता गरेका छन् । तर पैसा भने नागरिकसँग लिन्छन् । यसको अनुगमन कसले गर्ने ? यसरी उपचारका नाममा नागरिक ठग्न त पाइँदैन । 

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully