शाह वंशभन्दा पनि बलियो दाहाल नेतृत्व

जसले नेतृत्व हस्तान्तरण र नेतृत्वको आलोचना गर्‍यो उसलाई त्यो ठाउँमा टेक्ने ठाउँसमेत नदिने परिपाटी ओली–दाहालमा किन हाबी भयो ?

श्रावण २०, २०८२

पाठक पत्र

Dahal leadership is stronger than the Shah dynasty

What you should know

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको अन्तर्द्वन्द्वको च्याप्टर बन्द हुन नपाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक कलहले पुनः राजनीति क्षेत्र गर्माएको छ ।

नेकपा एमालेमा जसरी अध्यक्ष केपी शर्मा ओलीको अन्धभक्त भएर लाग्ने एउटा जमात छ, त्यसरी नै आँखा चिम्लेर पार्टी नेतृत्वको सर्वस्व स्विकार्ने जमात अन्य दलमा पनि उत्तिकै छन् भन्ने भन्ने कटु सत्य नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले एकाएक सार्वजनिक गरिदिएको छ । एमालेमा ओलीका विरुद्धमा बोल्नै नपाइने नीति छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमै रहेर सक्रिय राजनीति गर्न चाहेको र सक्रिय राजनीतिमा फर्केको घोषणा गरेसँगै उनको पार्टी सदस्यता नै नवीकरण नगरिदिएको र पार्टीमा सक्रिय हुने च्याप्टर नै बन्द गरिदिएको घटनाले पनि यो कुरा पुष्टि गर्छ । 

कांग्रेस र माओवादीमा विचारको सुनुवाइ होस्, नहोस् आफूलाई लागेका कुरा पार्टीमा राख्न भने पाइन्थ्यो । माओवादी केन्द्रमा पनि अब त्यो ढोका बन्द भएछ । दाहाल–ओलीको गठबन्धन, पार्टी एकतालगायत संस्करणबाट दाहालले पनि ओलीबाट राम्रै पाठ सिकेछन् भन्ने लागेको छ । यसअघि दाहालले नेतृत्व गरेको दलमा यसरी बोल्नै नपाइने भन्ने थिएन । भलै फरक विचारको सुनुवाइ किन नहोस्, विचार राख्न भने खुला थियो । पार्टीको नेतृत्व गर्न सक्छु भन्ने आँट भएका पनि अध्यक्षको शैलीले दबिएरै बसे भने ह्याउ नहुनेहरूले निरन्तर दाहालको देवत्वकरण गर्ने क्रमको निरन्तरता नै छ । अहिले पनि जो जसले दाहालको पूजा गरिरहेका छन्, उनीहरूमा केही गर्न सक्ने क्षमता छ भन्ने देखिँदैन । दाहालको यस्तै शैलीले पार्टी छियाछिया भएर आजको अवस्थामा आइपुगेको हो भन्नेमा दुईमत छैन । 

शाह वंशमा बरु पुस्ता हस्तान्तरण हुने चलन थियो । राजगद्दीमा आसीन व्यक्तिको आयुमा त्यो पुस्ता हस्तान्तरणले मान्यता राख्थ्यो । माओवादीको पछिल्लो कार्यशैली हेर्दा उसमा पनि त्यही शैली हाबी हुने जस्तो देखिन्छ । यद्यपि, क्षयीकरण हुँदै गएको पार्टीको अवस्था देख्दा वर्तमान नेतृत्वको अवसानपछि यो पार्टी पनि रहन्छ कि रहन्न भन्ने पनि सोचनीय विषय बनेको छ । नेपालको इतिहासमा शाह वंशको कार्यकाल हेर्ने हो भने सबैभन्दा धेरै कार्यकाल राजगद्दीमा आसीन हुने राजा त्रिभुवन वीरविक्रम शाहदेव देखिन्छन् । उनले ४३ वर्ष शासन गरेको देखिन्छ । तर दाहाल एउटा कम्युनिस्ट पार्टीका अध्यक्ष जो लगातार झन्डै चार दशकदेखि नेतृत्वमा छन् । के कम्युनिस्ट सिद्धान्त यस्तै हो ? जसको शब्दकोशमा हस्तान्तरण भन्ने शब्द नभएकै हो ? एउटा कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण भन्ने कुरा उठ्नै नहुने हो ? यदि त्यसो होइन भने जसले नेतृत्व हस्तान्तरण र नेतृत्वको आलोचना गर्‍यो उसलाई त्यो ठाउँमा टेक्ने ठाउँसमेत नदिने परिपाटी ओली–दाहालमा किन हाबी भयो ? यदि नेतृत्व हस्तान्तरण हुनै नहुने हो, गर्नै नहुने हो भने पार्टी विधान नै सच्याएर महाधिवेशनको नाटक मञ्चन हुने व्यवस्थाको खारेजी गरौं ।
सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक

Link copied successfully