असार, साउनको वर्षात्मा पनि बत्ती आउँदैन, झ्याप्प–झ्याप्प जान्छ भने अब हिउँदमा के गति होला ?
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको बहिर्गमनपछि अचाक्ली नै लोडसेडिङ भइरहेको छ ।
विशेष गरी जोरपाटीबाट थली, भद्रबास, आलापोट हुँदै कागेश्वरी जाने लाइनमा दैनिक पाँच/सात पटक बत्ती जाने गर्छ । साउन १५ मा राति १० बजे गएको बत्ती भोलिपल्ट बिहान ९ बजेर ४६ मिनेटमा मात्रै आयो ।
इन्टरनेटको जमानामा यस्तो हुनु दुर्भाग्य हो । बत्ती गएपछि नेट/कम्प्युटर केही चल्दैन । अचेल धेरैजसो काम कम्प्युटरबाट गरिने हुँदा बत्ती नहुँदा समस्या थपिएको छ । बिजुली कम्पनीका मान्छे ज्यादै पुरातनपन्थी छन् । मैले २०७१ सालदेखि लेख वा कविता कलमले कापीमा लेख्ने गरेको छैन, डाइरेक्ट कम्प्युटरमा टाइप गर्ने गरेको छु । यसरी लामो समय बत्ती गएपछि मैले हात बाँधेर बस्नुपरेको छ । लोडसेडिङ नै हो भने तालिका सार्वजनिक गर्नुपर्यो । बेला न कुबेला बत्ती जाँदा काममा बाधा परेको कुरा कति लेख्नू ? बिजुली अफिसका हाकिम वा कर्मचारी अति लापरबाह हुनु र जति कराए पनि नसुन्ने सरकार भएकाले एउटै कुरा बारम्बार लेखिरहनुपरेको छ ।
असार, साउनको वर्षात्मा पनि बत्ती आउँदैन, झ्याप्प–झ्याप्प जान्छ भने अब हिउँदमा के गति होला ? यसरी बारम्बार बत्ती जाँदा बिजुली मन्त्री र बिजुली हाकिम कानमा तेल हालेर सुतेजस्तो लाग्छ । आफूलाई अति जान्ने–सुन्ने ठान्ने हाकिम र मन्त्री रहेसम्म जनताले दुःख पाउने निश्चित छ ।
– ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य', महाकवि देवकोटा आश्रम, काठमाडौं
