बहुविवाहको कानुन मस्यौदा महाप्रतिगमनतर्फको यात्रा

पुरुषको सामाजिक अपराध ढाकछोप गर्ने वा सहुलियतपूर्ण सुविधाको ढोका खोल्ने मनसाय

श्रावण १८, २०८२

पाठक पत्र

The polygamy bill is on its way to the Great Regression

What you should know

‘बहुविवाह गर्न पाउने कानुनको मस्यौदा तयार’ शीर्षक समाचार अत्यन्त चिन्ताजनक र बहसयोग्य छ ।

२०७५ भदौ १ मा मुलुकी अपराध संहिता लागू भएपछि बहुविवाहलाई पूर्ण निषेध गर्दै आएको नेपालको कानुनी प्रणालीलाई लैंगिक समानता, महिला अधिकार र सभ्य समाजतर्फको यात्रामा एउटा ऐतिहासिक प्रगतिका रूपमा हेरिएको थियो । तर त्यो प्रगतिलाई उल्टाउने गरी ल्याउन लागिएको संशोधन विधेयकको मस्यौदाले गम्भीर सामाजिक–न्यायिक प्रश्न खडा हुने देखिन्छ ।

कानुन मन्त्रालयले प्रस्ताव गरेको मस्यौदामा विवाहित पुरुषले अर्को सम्बन्ध राख्दा महिला गर्भवती भए वा सन्तान जन्मिए विवाह स्वतः वैधानिक ठहरिने व्यवस्था ‘लाजको विषय’ मात्रै होइन, विधिशास्त्रको मूल्य–मान्यता प्रतिकूल पनि हो । यो प्रावधानले विवाहजस्तो संस्थालाई बृहत् सामाजिक अनुशासन र आपसी उत्तरदायित्वका आधारबाट निकालेर जैविक सम्भावनाभित्रै सीमित गर्न खोजिएको देखिन्छ । गर्भ वा सन्तानलाई वैवाहिक अनुमति दिने आधारलाई टेकेर गरिएको यस्तो कानुनी प्रस्ताव स्वतः महिला अधिकारमाथिको प्रहार हो । अझै गहिराइमा पुगेर रौँचिरा केलाउँदा प्रस्तावित व्यवस्थाले कानुनी संरक्षणमा पुरुषको सामाजिक अपराध ढाकछोप गर्ने वा सहुलियतपूर्ण सुविधाको ढोका खोल्ने मनसायसमेत झल्किन्छ ।

समाचारमा जनाइएअनुसार कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको ‘सडकमा पुगेका महिलाको उद्धार हुने’ तर्क विधिशास्त्रीय दृष्टिकोणमा आधारितभन्दा पनि पितृसत्तात्मक सोचप्रतिको सहानुभूतिजस्तो प्रतीत हुन्छ । यस्तो तर्कले कानुनी व्याख्या र लैंगिक समताको दृष्टिकोणबाट समाधान होइन, गम्भीर समस्या सिर्जना हुने देखिन्छ । किनभने समस्याको समाधान बहुविवाहलाई कानुनी संरक्षण दिनेमा होइन कि वैवाहिक उत्तरदायित्वलाई मजबुत बनाउने, शिक्षामार्फत चेतना अभिवृद्धि गर्ने र एकल आमाहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गर्नेमा खोजिनुपर्छ ।

यस सन्दर्भमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणीलाई नजरअन्दाज गर्नु देशको न्यायिक विवेकको अपमान हुनेछ । बहुविवाह वैधानिक हुनेबित्तिकै कमजोर आर्थिक हैसियत भएका महिलामाथि हुने घरेलु हिंसा, परित्याग, आर्थिक शोषण र मानसिक उत्पीडन बढ्नेछ । त्यसले नेपालका दुर्गम र ग्रामीण क्षेत्रको सामाजिक संरचनामा पार्ने प्रभाव हामीले सोचेभन्दा कहालीलाग्दो हुने निश्चित छ ।

प्रस्तावित विधेयकको व्यवस्थाले पुरुष वर्चस्वलाई वैधानिक आड दिने र संविधानद्वारा प्रत्याभूत लैंगिक समानतामाथि कुठाराघात हुनेछ । जुनसुकै बहानामा नीति निर्माणको नाममा इतिहासको घडी उल्ट्याउने कार्य तत्काल रोकिनुपर्छ ।

टेकेन्द्र अधिकारी, विराटनगर

पाठक पत्र

Link copied successfully