अबको कार्यक्रम तार्किक र व्यावहारिक नभए संकट गहिरिने ठहर
नवगठित समाजवादी मोर्चा मुलुक अप्ठ्यारो अवस्थामा पुगेको, समृद्धिको काम अघि नबढेको भन्ने निष्कर्ष निकाल्दै सशक्त संघर्षका कार्यक्रमसहित भदौ अन्तिमदेखि देश दौडाहामा निस्कन तयार भएको छ ।
गतहप्ता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकमा मुलुकको विगत सिंहावलोकन गरिएको, अबको कार्यक्रम तार्किक र व्यावहारिक नभए संकट गहिरिने ठहर गरिएको छ । समाजवादको सिद्धान्तअनुरूप व्यवहारमा असफल भएको सन्दर्भ, संविधानप्रदत्त प्रावधानको उपेक्षालगायत महत्त्वपूर्ण विषयमा नेतृत्वले चासो देखाएको पाइएन ।
समाजवादका यावत् कुरामाथि मध्यनजर गर्दै सरकारमाथि औंला ठड्याएर निरीह जनताका समस्या हल गर्ने क्षमता, तागत मोर्चामा आबद्ध दलहरूसँग हुँदाहुँदै देशव्यापी संघर्ष फैलाउन खोज्नु आवश्यक हुन्छ र ? भन्ने हो भने मुलुकका विसंगति, समस्यै समास्याको पहाडले हामी सबै थिचिँदै आएका छौं, । यतिबेला मधेश प्रदेशलगायत ठाउँमा धान रोपाइँ हुन नसकेको, सिँचाइ सुविधा बढाउन सरकारले ध्यान नदिएको पीडादायी अवस्थामा समाजवादी मोर्चा सरकारविरुद्ध कडा रूपमा उत्रनुपर्ने होइन ?
उता सहकारीपीडितको रुवावासी, भिजिट भिसा प्रकरण, मानव तस्करी, मन्त्रीहरूकै संलग्नतामा भइरहेका भ्रष्टाचार, युवा पलायनलगायत समस्या हल गर्न मोर्चाको भूमिका रहँदैन ? केन्द्र, प्रदेश र स्थानीय सरकारमा देखिएका भ्रष्टाचारको समस्या हल गर्न मोर्चा आँधीबेहरी बनेर प्रस्तुत हुन सक्दैन ? पाइला पाइलाको शासकीय बेथितिले मुलुकको सामाजिक, आर्थिक अवस्था क्षतविक्षत हुँदा त्यतातिर ध्यान नदिई संघर्ष र राजनीतिक हंगामाले मुलुकको रूपान्तरण होला ? समाजवादको पुरानो पाठ रट्दैमा गरिब जनताको हातमुख जोर्ने आधार तयार होला ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
