ठट्टाको सट्टा राष्ट्रचिन्तन गरौं कि प्रधानमन्त्रीज्यू !

श्रावण ८, २०८२

पाठक पत्र

Let's think of the nation instead of joking, Prime Minister!

What you should know

हाँस्नु, स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर हाँस्न पनि पहिला स्वस्थ हुनुपर्ने रहेछ । तनमा चोट र मनमा पीडा बोकेर मान्छे हाँस्न सक्दैन ।

हाँस्न र हँसाउनका लागि कुनै कमजोरी चाहिन्छ । तर जसको कमजोरीलाई लिएर व्यंग्य गरिएको हो, उसलाई भने पीर परिरहेको हुन्छ । हिलोमा चिप्लिएर पछारिएको मान्छे पीडाले हुरुक्क भइरहेको हुन सक्छ । तर त्यही बेला कसैले, ‘एहे ! यहाँ त कत्रो ठूलो माछा पर्‍यो !’ भनिदियो भने हाँस्ने कि रुने ? कहिलेकाहीँ ठट्टाकै कारण झगडा हुने गरेको पनि पाइन्छ । त्यसैले पनि ‘ठट्टामा लट्टा पर्छ’ भन्ने उखान चलेको होला । 

हाम्रा प्रधानमन्त्री उखानटुक्का भन्न, गफ दिन, ठट्टा गर्न र व्यंग्य कस्न ज्यादै सिपालु हुनुहुन्छ । उहाँका कुराले धेरैलाई मनोरञ्जन दिएको छ । हँसाएको छ । कतिले त हाम्रा प्रधानमन्त्रीकै कुराले पनि तनाव कम हुने गरेको भनेर ‘प्रतिव्यंग्य’ गर्छन् । तर उहाँका अधिकांश ठट्टा ‘इलाजिकल’ भएका कारण त्यसले धेरैलाई रिस पनि उठाएको छ । 

भारतले नाकाबन्दी लगाएताका ग्यास अभावका कारण सामान्य जनता भोकभोकै भइरहेका बेलामा घरघरमा ग्यास पाइप पुर्‍याइदिने भनेर ठट्टा गर्नुभएको थियो । रेल र पानीजहाजको कुरा अर्को ठट्टा थियो । उहाँका हरेकजसो ठट्टा, उखानटुक्का र बोलीमा ताली बजेको पाइन्छ । देश र जनताका लागि ठोस योजनाका साथ अहोरात्र काम गर्नुपर्ने बेलामा उखानटुक्का, हँस्यौली, ठट्यौली र गफ दिन बन्द गरे हुँदैन, प्रधानमन्त्रीज्यू ?

आफ्नै पार्टीको राष्ट्रपति भएकाले फाइदा उठाउँदै दुई–दुई पटक संसद् विघटन गर्ने, शपथ ग्रहणजस्तो विशेष अवसरलाई हल्का ठानेर ‘त्यो पर्दैन’ भन्दै खित्के हाँसो उमारेर ठट्टा गर्न मिल्थ्यो त ? अझै पनि उहाँ ‘म जेलमा बसेको १४ वर्षको समय कट्टा गर्नुपर्छ’ इत्यादि भनेर ठट्टा गर्दै हँसाउँदै हुनुहुन्छ । यस्ता अनेक ठट्टाको सट्टा राष्ट्रलाई समृद्ध बनाउने विषयमा सोच्ने भावना र फुर्सद कहिले आउला ?

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक पत्र

Link copied successfully