जापानको चुनावी अनुशासन र नेपालको भीड संस्कृति

श्रावण ८, २०८२

पाठक पत्र

Japan's Electoral Discipline and Nepal's Crowd Culture

What you should know

जापानमा भर्खरै माथिल्लो सदनको निर्वाचन सम्पन्न भयो । यहाँको चुनाव प्रचारशैली, जनताको शालीन सहभागिता र नेताहरूको संयमित अभियान हेर्दा मलाई नेपाली राजनीतिक भीड र भव्यताभन्दा फरक किसिमको लोकतन्त्र अनुभूत भयो ।

यो लोकतन्त्र हो जति चिच्याउने हो, उति जित्ने भन्ने होइन, बरु जति सुन्ने हो, बुझ्ने हो र भोट हाल्ने बेलामा विवेक प्रयोग गर्ने हो । 

चुनाव हुनु केही दिनअगाडिको कुरा हो । अरू दिनजस्तै काम सकिएपछि म टोकियोको उएनो स्टेसनतिर लम्किरहेको थिएँ । गर्मी मौसम, छिटोछिटो हिँडिरहेका मान्छेहरू र तीबीच म एक थाकेको मजदुर घर फर्किन आतुर । स्टेसनको ठीक छेउमा आकस्मिक रूपमा मेरो नजर रोकियो– एउटी महिला उम्मेदवार हातमा माइक लिएर चुनावी भाषण दिइरहेकी थिइन् । त्यो दृश्य अनौठो लाग्यो । भाषण त भइरहेको थियो, तर वरिपरि न त भीड थियो, न झन्डा, न नारा– केवल केही सहयोगी अनि निर्विकार सुनिरहेझैं लाग्ने बाटो छिचोल्ने आमजापानी । 

उहाँको स्वर शान्त थियो, व्यवहार सभ्य । मानौं लोकतन्त्रको बोझ होइन, कर्तव्यको रूपले उहाँले आफ्नो अभिव्यक्ति गरिरहनुभएको थियो । त्यतिबेला मैले महसुस गरें– यो देशमा निर्वाचन कुनै मेला होइन, विवेकको परीक्षण हो । 

त्यसै क्षण म मनमनै नेपालको यादमा हराएँ । चुनाव आउँदा हाम्रो गाउँमा हुने होहल्ला सम्झें । नारा, जुलुस, रक्सीको होल्डिङ र नेताको फोटो भएका टिसर्ट लगाएका सयौं समर्थक जो ‘जिन्दाबाद–मुर्दाबाद’को युद्धमा होमिन्छन् । कतिपय त खाली पेट भए पनि नेता हेर्नका लागि घण्टौं हिँड्छन् । कतिले त रक्सीको लालचमा झगडा गर्न पछि पर्दैनन् । अनि चुनाव सकिएपछि फेरि भोक र बेरोजगारीको दैनिकीमा फर्कन्छन् । 

यहाँ जापानमा, म जहाँ काम गर्छु, त्यहाँका मानिस राजनीतिमा लाग्छन् तर केवल मतदान गर्न । उनीहरूलाई कसैको पछि लाग्नै पर्दैन, नेता हेर्न समय खर्च गर्नै पर्दैन । उनीहरूको आत्मनिर्भरता र व्यक्तिगत विवेक नै उनीहरूको मतदाताको परिचय हो । 

हुन त परिवर्तन एकै दिनमा हुँदैन, तर चेतनाको बीउ आजै रोप्न सकिन्छ । यदि उएनोको एउटा साँझले मेरोभित्र बत्ती बाल्न सक्छ भने हाम्रो देशका हजारौं युवाले आफ्नो विवेकमा उज्यालो ल्याउन सक्छन् । अब निर्णय हाम्रो हो, हामी फेरि भीडमा हराउने कि विवेकमा उभिने ?

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully