What you should know
सेयर बजारमा गिरावट आएको छ । बैंकहरूले ब्याजदर लगातार घटाइरहेका छन् । वैदेशिक ऋण बढेको बढ्यै हुँदा नागरिकका थाप्लामा पनि ऋणको भार बढ्दै जानु स्वाभाविकै भयो ।
महँगी रोक्न सकिने कुरै आएन । उद्योगधन्दा नभएपछि रोजगारी वृद्धि हुने कुरो पनि भएन । जनताका लागि सकेसम्म कर बढाइएको छ । र, पनि पत्तो नचलेर, आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था भइसक्यो । यी सबै हुनुको पछाडि देश झन्झन् आर्थिक धराशायी अवस्थामा पुग्नु नै हो ।
देशको आर्थिक अवस्था हदैसम्मको दयनीय हुँदाहुँदै पनि नेताका संख्या र सुविधा घटेका छैनन् । उनीहरूको विलासी जीवनशैली सान बनेको छ । अन्याय, दण्डहीनता, काण्ड, भ्रष्टाचार एकरति घटेको छैन । प्रमुख नेता आफूलाई अजम्मरी ठान्दै छन् । जनताका आक्रोश र निराशालाई कतिपय सांसदले सदनमा पनि उठाएका छन् । पत्रकारहरूले कडा प्रश्न गरेका छन् । लेखकले भित्तैमा पुर्याएर लेखेका छन् । कलाकारले पनि विकृतिको सक्कली अनुहार देखाउन कुनै कञ्जुस्याइँ गरेका छैनन् । तर हाम्रा खाइपल्केका नेतागणमा कुनै पश्चाताप देखिएको छैन । उनीहरूको ‘भ्रष्टाचारी मनोबल’ घटेको छैन । न त देश र जनताका लागि तिनीहरूमा कुनै सद्बुद्धि नै पलाएको छ ।
स्वार्थपूर्ण गतिविधि, आलोपालो प्रणाली, एकअर्काको बचाउ, सेटिङ... देश यस्तै अवस्थाबाट गुज्रिँदै छ । यो उकुसमुकुस र कहालीलाग्दो अवस्थाको अन्त्य कसै गरी पनि हुनुपर्छ ।
– अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा
