हवाई सुरक्षाको कमजोर पक्ष उजागर

श्रावण ४, २०८२

पाठक पत्र

Air defense vulnerabilities exposed

What you should know

सौर्य जहाज दुर्घटनाको वर्ष दिनपछि सार्वजनिक प्रतिवेदनले एकै पटक धेरैलाई झस्काइदिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स सीआरजे–२०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त हुँदा १८ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । दुर्घटनाको मुख्य कारण प्राविधिक समस्या नभई पाइलटको त्रुटि रहेको कान्तिपुरले प्रतिवेदनका अंश उल्लेख गर्दै शनिबार समाचार प्रकाशित गरेको छ, जसले नेपालको हवाई सुरक्षाको कमजोर पक्षलाई उजागर गरेको छ । 

समाचारअनुसार दुर्घटना जाँच आयोगको प्रतिवेदनले पाइलटले टेकअफका क्रममा जहाजको ‘नोज’ अत्यधिक माथि उचालेका कारण ‘पिच रेट’ बढेको र गति घटेर ‘डिप स्टल’ भएको पत्ता लगाएको छ । सीआरजे जहाजलाई टेकअफका लागि ३ डिग्री प्रतिसेकेन्डको ‘पिच रेट’ आवश्यक पर्नेमा दुर्घटनाग्रस्त जहाजको ५.५ डिग्री प्रतिसेकेन्ड पुगेको पाइएको छ, जुन अत्यधिक हो । यसले स्पष्ट रूपमा पाइलटले तोकिएको मापदण्डभन्दा बढी ‘पिच रेट’ मा जहाज उडाएको देखाउँछ । अझ चिन्ताजनक कुरा त आयोगले सौर्य एयरलाइन्सका अन्य २०० जहाजका पुराना उडानको विश्लेषण गर्दा पनि पाइलटहरूले उडानका क्रममा जहाज उठाउने गति ‘रोटेसन रेट’ सामान्यतः ३ डिग्री प्रतिसेकेन्डभन्दा धेरै बनाउने गरेको पाइएको छ । 

यस दुर्घटनाले नेपालको हवाई आकाशको सुरक्षामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । मुख्य रूपमा यो दुर्घटनामा पाइलटको व्यक्तिगत त्रुटि र असुरक्षित उडान अभ्यासलाई दोषी देखाउन सकिन्छ । तर, यसका पछाडि नियामक निकाय, विशेषगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको गैरव्यावसायिक अनुमति प्रक्रिया र निरीक्षणमा कमजोरी रहेको स्पष्ट छ । ‘स्पिड कार्ड’ को गलत प्रयोग र यसमा कहिल्यै सुधार नभएको भन्ने प्रतिवेदनले प्राधिकरणको कमजोर अनुगमन प्रणालीलाई संकेत गर्छ । पाइलटलाई उचित तालिम र नियमनको कमीले यस्ता घटना दोहोरिन सक्ने जोखिम बढाउँछ । 

यो दुर्घटना केवल एक पाइलटको त्रुटिको परिणाम मात्र नभई समग्र हवाई सुरक्षा प्रणालीको कमजोरीको द्योतक हो । नेपाल सरकारले हवाईसम्बन्धी नियमावली र कानुनको पालनामा कडाइ गर्न, पाइलट तथा प्राविधिकहरूलाई उचित शिक्षा र तालिमको व्यवस्था गर्न र नियामक निकायलाई अझ बढी जिम्मेवार बनाउन तत्काल आवश्यक कदम चाल्नुपर्छ । नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन र यस्ता दुःखद् घटनाहरू दोहोरिन नदिनका लागि सम्बन्धित सबै पक्षहरू गम्भीर हुन जरुरी छ । 

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सीकोला

पाठक

Link copied successfully