राष्ट्रको सम्मानित र गरिमामय पदमा रहेर अवकाश पाएपछि सक्रिय पार्टी राजनीतिमा फर्किन्छु भन्नु व्यक्तिको वैयक्तिक स्वतन्त्रता र तजबिजी अधिकार हो । यसमा अरूले टाउको दुखाउनुपर्ने केही कुरा छ जस्तो लाग्दैन ।
उपराष्ट्रपति नन्दबहादुर पुन अवकाशपछि पार्टीको सक्रिय राजनीतिमा प्रवेश गर्दा माओवादी पार्टीले उनको भव्य स्वागत गर्यो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले त छेउमै राखेर पुनमाथि फूलमाला र अबिरको वर्षा गराए । त्यति मात्र होइन, उनलाई तुरुन्तै उपाध्यक्ष बनाइयो । एक किसिमले रातो कार्पेट बिछ्याएरै पूर्वउपराष्ट्रपति पुनको माओवादीमा स्वागत भयो ।
तर, उस्तै प्रकृति र परिवेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन्छु र पार्टी काम गर्छु भन्दा एमाले अध्यक्ष र महासचिवले टाउको दुखाउनुपर्ने खास कारण बुझिएन । नेतृत्व गुम्ने डरले भनौं भने पार्टीमा श्रेष्ठता हासिल गर्ने व्यक्ति नै नेतृत्वमा पुग्ने हो । जसले राम्रो काम गर्छ र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्छ, उही नेतृत्वकर्ता हो । यति कुरा पनि नबुझेर राष्ट्रपतिजस्तो सम्मानित र गरिमामय पदमा आसीन भएर अवकाशपछि पार्टी राजनीति गर्छु भनी कस्सिएकी एक महिलालाई एमालेले काँडेतार लगाएर छेकबार गर्न खोज्नु कदापि उचित कुरा होइन । मदन भण्डारी कसैको अनुकम्पा र मोलाहिजाले पार्टी
नेतृत्वमा पुगेका हुन् र ? श्रेष्ठता कायम गरेरै, विचार प्रवाह गरेरै नेतृत्वमा चुनिएका हुन् । उनकै श्रीमतीले पार्टीलाई नयाँ शिराबाट अघि बढाउँछु भन्दा छेकबार र भाँजो हाल्ने काम किन ?
– गोपाल देवकोटा, कामनपा–७, चाबहिल, काठमाडौं
