हामी केटाकेटी हुँदाको कुरो हो । कक्षामा कसैको किताब, कापी वा कलम हराएपछि भेटिएला कि भन्ने आसले ऊ भन्थ्यो, ‘मेरो... कसैले भेटेका छौ ?’ भेट्टाउनेले त्यो सामान अघि नै बाहिर कतै लगेर लुकाइसकेको हुन्थ्यो ।
तर उही सबैभन्दा जोडले कराएर भन्थ्यो, ‘मैले लगेको भए मेरो झोला खोलेर हेर् न !’ अहिले कतिपय भ्रष्टाचार र काण्डका प्रसंग चल्दा हाम्रा नेताहरू भन्नुहुन्छ, ‘दोषी प्रमाणित भए म सजाय भोग्न तयार छु... । शंका लागे ममाथि पनि छानबिन गरे भइहाल्छ... । दोषी प्रमाणित भए म राजनीति नै त्याग्नेछु... । ’
कानुन र नैतिकता सिकाउने साँच्चिकै नेता भए, त्यस्ता कुरा पनि भनिरहनुपर्छ र ! गणतन्त्रमा, कानुनीराजमा र कमसेकम यो जमानामा, दोषी भएपछि जसलाई पनि कारबाही हुन्छ र हुनु पनि पर्छ । अभियोग लागेपछि छानबिन प्रक्रिया सुरु हुनु स्वाभाविकै हो । न्यायालयबाट पनि दोषी नै निर्दोषी प्रमाणित भए त के लाग्यो र ! नत्र अपराधी र दोषी प्रमाणित भएपछि कानुनबमोजिम जेल जानुपर्ने हुन सक्छ । त्यो अवस्थामा राजनीति आफैं त्यागिन्छ । कसैले ‘त्यागी’ भएर त्याग्नै पर्दैन ।
जग्गा, सुन, पैसा ! यिनै कुरा रहेछन् क्यारे मानव जीवनमा कमाउनुपर्ने ! अनि यसका लागि पद पहिला हात पार्नुपर्ने रहेछ ! अनि समूह मिल्नुपर्ने रहेछ ! शास्त्रमै भनिएको छ, ‘...संघौ शक्ति कलियुगे’ अर्थात् कलियुगमा समूहमा बल हुन्छ । हाम्रो राजनीतिमा यही कुरा स्थापित छ ।
पछिल्लो समयमा नेतृत्वकै सहभागितामा भएका ठुल्ठूला भ्रष्टाचार काण्ड सार्वजनिक भए । तर समूहमा उनै मिले । कारबाही हुने कुरै भएन । हालै, ‘भिजिट भिसा’ को कुरा सेलाउन नपाउँदै मन्त्री राजकुमार गुप्ताको ‘७८ लाख घूस डिल प्रकरण’ सार्वजनिक भयो । अनावश्यक, अप्रासंगिक र अनर्गल कुरा बोलेर जित्ने हाम्रा प्रधानमन्त्री जनताको आवाजको सुनुवाइका लागि बोल्नैपर्ने आवश्यक कुरामा चाहिँ नबोलेर जित्न खोज्दै हुनुहुन्थ्यो । तर, अन्ततः मन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीलाई केही सजिलो पारिदिएका छन् ।
यस्तो लाग्छ, प्रधानमन्त्रीले ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भनेको कुरा एकदम सही हो किनभने खाने र खुवाउने कामका लागि कसैको पनि मुख हेर्नै पर्दैन । खाँदा मुखैमा जान्छ । खानेले मुख ल्याउँछ । यो काम त अँध्यारैमा पनि हुने रहेछ– जो मजासँग अहिले चलिरहेछ !
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
नेपालमा भ्रष्टाचार अब ‘न्यु नर्मल’ भइसकेको छ । भारतमा मोदी भन्छन्, ‘न खायेंगे, न खाने देंगे । ’ तर उनकै पार्टीमा खाने मात्र होइन, खुनीसमेत छन् । त्यस्तै नेपालमा ओली भन्छन्, ‘म घूस खादिनँ र खान पनि दिन्नँ । ’ तर उनकै पार्टीमा खाने मात्र होइन, खुनी पनि छन् । यो अलग कुरा हो कि ‘त्यस खुन’ मा राजकुमार गुप्तामाथि मुद्दा लगाइएन । यस्ता मन्त्री यस मानेमा ढुक्क हुन्छन् कि बढीमा जयप्रकाश गुप्ता वा खुमबहादुर खड्काको हबिगत त हुने हो ! फूलमालाले सम्मान भने त्यसमा पनि पाइहालिन्छ । पदबाट राजीनामा दिनुअघि मन्त्री गुप्ताले अडियोको आवाज मेरो होइन भनेका छन् । दोष प्रमाणितअघि सबैले भन्ने कुरा नै यही हो ।
–डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज
