माया धराने बेसार उद्योग अहिले भर्खरै स्थापना भई बजारमा प्रवेश गरिरहेको उद्योग हो तर यसको सन्देश भने धेरै गहिरो छ । आत्मनिर्भरता, स्थानीय उत्पादनको सम्मान र नेतृत्वको दृढ संकल्पलाई एकैपटक प्रस्तुत गर्ने यस पहलले सानो उद्योगले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने यसले सन्देश दिएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पहलमा सुरु भएको यो उद्योग अझै सुरुवाती चरणमै छ, तर यसले नेपाली समाजमा मौलाउँदै गएको ‘केही गर्न सकिन्न’ भन्ने मानसिकतामाथि चोट पुर्याएको छ । स्थानीय किसानको खेतमा उत्पादन भएको बेसारलाई स्थानीय स्तरमै प्रशोधन गर्दै प्याकेजिङ गरेर बजारमा ल्याउने काम सुरु गरिएको छ । ‘माया धराने’ ब्रान्डमा ल्याइएको यो उत्पादन हालसालै बजारमा देखिन थालेको हो, जसलाई धरानवासीले गर्वका साथ स्वागत गरेका छन् ।
बजारमा प्रवेश गरेको केही दिनमै ‘माया धराने’ बेसारको चर्चा केवल धरानमा सीमित छैन, सामाजिक सञ्जाल र राष्ट्रिय मिडियामा समेत यसले स्थान पाइरहेको छ, जुन नेपालमा स्थानीय प्रयासप्रतिको उत्साहजनक परिवर्तनको संकेत हो । सबै नेपालीलाई थाहा छ– हामीकहाँ उत्पादनको सम्भावना धेरै छ, तर सरकारी नीति, लगानी सुरक्षाको ग्यारेन्टी र प्रोत्साहनको अभावले ती सम्भावना सधैं अधुरा रहने गरेका छन् । त्यसैले यो उद्योगले बाटो खोलिदिएको छ, सन्देश दिएको छ कि सुरुवात गर्न सकेर अघि बढे परिवर्तन सम्भव छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
