दिनभरको कामले थकित शरीर बोकेर म जापानको साँझपखको ट्रेन चढ्छु । कोठाबाट स्टेसनसम्म हिँड्दा एक किसिमको यन्त्रवत् अनुभूति हुन्छ– ठ्याक्कै समयमै आउने रेल, निर्धारण गरिएको प्लेटफर्म अनि अनुशासनले बाँधिएको यात्रुको भीड । ट्रेनभित्र पस्नेबित्तिकै लाग्छ म केवल यात्रु होइन, म समयको सानो पुर्जामा परिणत भइसकेको छु ।
ट्रेनको एक कुनामा जापानी यात्रु छन्, कोही ल्यापटपमा आँखा गाडेर एक्सेलको पाना पल्टाइरहेका छन्, कोही मोबाइलमा अफिसको मिटिङमा गम्भीर छन्, त कोही कानमा एयरफोन लगाएर अनुहार नचलाई भावनाविहीन किताब पढिरहेका छन् । यी सबै अनुशासित मानिस हुन् । उनीहरूसँग सरकार, सुविधा, स्थायित्व र योजनाबद्ध भविष्य छ । तर त्यो अनुशासनको छायामा म एक किसिमको मौन पीडा देख्छु– जहाँ हाँसो छैन, संगति छैन, रमाइलो त परै जाओस्, नजर मिलाउने आँट पनि छैन ।
त्यही ट्रेनको अर्को कुनामा म देख्छु– हाम्रा नेपाली साथी । कोही बियरको क्यान हातमा लिँदै रमाइरहेका छन्, कोही मोबाइलमा आफ्नै जोकमा हाँसिरहेका, कोही भने दिनभरको थकान छोड्दै साथीको काँधमा अडेस लगाएर निदाउने प्रयासमा छन् । कसैका छेउमा चाउचाउको प्याकेट, कसैको झोलामा झुन्डिएको फलफूल । भोलिको कुनै योजना छैन, भविष्य कता पुग्छ थाहा छैन, तर एक किसिमको सन्तुष्टि छ तिनीहरूमा जसलाई कुनै एक्सेल सिटले नाप्न सक्दैन ।
साँचो कुरा के हो भने हामी नेपालीले सायद संसारकै सबैभन्दा गाह्रो कला सिकेका छौं– ‘अभावमा पनि आनन्द खोज्ने कला ।’ हामी त्यो जात हौं, जसले चौरमा पनि
चिया बनाउँछ, सुनिन भन्ने बहानामा गीत दोहोर्याएर सुनाउँछ, अनि थकाइलाई गफमा परिणत गर्छ ।
साँच्चै भन्नुपर्दा, हामीलाई भोलिको चिन्ता छैन । किनभने हामीले अहिले बाँच्छौं । हामी अहिले रमाउँछौं, अहिले प्रेम गर्छौं, अहिले आँसु झार्छौं, अनि अहिले नै हाँस्छौं । हाम्रो वर्तमान खाली छैन भरिएको छ, अनुभूतिले, आत्मीयताले, जीवन्तताले ।
हो, हामी अभावमा जन्मिएका हौं, तर आत्मसन्तुष्टिमा बाँचिरहेका छौं । हामी हाँस्न सिकेका छौं अन्धकारमा पनि । हामी रमाउन जान्दछौं रित्तो खल्तीमा पनि । हामीसँग योजना छैन, तर अनुभूति छ । हामीसँग पैसा छैन, तर प्रेम छ ।
त्यस साँझको ट्रेनमा म बुझ्छु हाम्रो विन्दास रमाइलो केवल सतही होइन । त्यो हाम्रो प्रतिरोध हो, हाम्रो आत्मविश्वास हो, हाम्रो बाँच्ने शैली हो ।
र, त्यसैबेला मेरो मन मौन हुँदै भन्छ– ‘गर्व छ म नेपाली हुँ भनेर ।’ म त्यो जातको हिस्सा हुँ, जसले जिन्दगीलाई योजना होइन, हृदयले जिउँछ ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
