‘रिटोरिकल सिल्ड’ को सहारामा मदनमाथि लाञ्छना

असार २७, २०८२

पाठक पत्र

Blaming Madan with the help of 'rhetorical shield'

कान्तिपुरमा मंगलबार प्रकाशित रूपेश श्रेष्ठको ‘मदनमाथिको आरोप उत्खननको अन्तर्य’ आलेख निकै रोचक, पठनीय र बौद्धिक ओजले भरिपूर्ण लाग्यो । श्रेष्ठले त्यस आलेखमा ‘रिटोरिकल सिल्ड’ भन्ने शब्दावली प्रयोग गरेका छन् ।

‘अरूले यसो भनेका थिए भनेर व्यक्तिमाथि हमला गर्न’ यो शब्दावलीको प्रयोग गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जननेता मदन भण्डारीमाथिको आरोप पनि यसै मनसायले गरिएकामा शंका छैन ।

उक्त लेखमा प्रयोग भएका ‘रिटोरिकल सिल्ड’, ‘इन्न्युन्डो’ जस्ता शब्द राजनीतिमा चासो राख्ने सबैका लागि उपयोगी त छन् नै, विशेषगरी हाम्रा प्रधानमन्त्री ओलीका लागि झनै शिक्षाप्रद् छन् भन्ने लाग्छ । किनकि ओलीले ‘रिटोरिकल सिल्ड’ को सहारामा मदनको मृत्यु भएको ३२ वर्षपछि उनकै श्रीमती र छोरी सरिक कार्यक्रममा मदनमाथि अनावश्यक हिलो छ्याप्ने काम गरेका छन्, जुन आलोचनायुक्त मात्र होइन, खेदजनकसमेत छ । मदन भण्डारी फाउन्डेसनद्वारा गत शनिबार आयोजित कार्यर्क्रममा ओलीले मदनका तीन/चारवटी श्रीमती रहेको र सहकारी ठगको आरोप लागेको जस्ता सन्दर्भ निकालेर घुमाउरो तरिकाले मदन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गर्ने प्रयास गरेका थिए । 

प्रधानमन्त्री ओलीले विद्यादेवी र उनकी छोरीकै अगाडि त्यसरी मदनको तेजोवध गर्नुको रहस्य धेरैका लागि आश्यचर्यजनक छ । जुन पार्टीका लागि मदन आदर्श व्यक्ति हुन्, एक विचारक मानिन्छन्, तिनैका बारे यसरी अनापसनाप बोल्नुलाई कसैले पनि राम्रो मानेका छैनन् । वास्तवमा ओलीलाई विद्यादेवी राजनीतिमा आउन खोजेको पटक्कै मन परेको छैन । विद्यालाई राजनीतिमा आउनबाट रोक्न उनले अनेक हथकन्डा अपनाइरहेका छन् । तर मदनको अपमान गरेर विद्यादेवी र उनकी छोरीलाई प्रताडित गर्नुको मूल्य अथवा खामयाजा ओलीले नराम्रोसँग चुकाउनुपर्ने दिन अब धेरै टाढा छैन । आजसम्म एमाले चलेकै मदनको बहुदलीय जनवादको सिद्धान्त र विचारले हो । एमालेका लागि मदन व्यक्ति होइन, विचारक हुन् । 

गोपाल देवकोटा, कामनपा–७, चाबहिल, काठमाडौं

पाठक पत्र

Link copied successfully