कान्तिपुरमा मंगलबार प्रकाशित रूपेश श्रेष्ठको ‘मदनमाथिको आरोप उत्खननको अन्तर्य’ आलेख निकै रोचक, पठनीय र बौद्धिक ओजले भरिपूर्ण लाग्यो । श्रेष्ठले त्यस आलेखमा ‘रिटोरिकल सिल्ड’ भन्ने शब्दावली प्रयोग गरेका छन् ।
‘अरूले यसो भनेका थिए भनेर व्यक्तिमाथि हमला गर्न’ यो शब्दावलीको प्रयोग गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जननेता मदन भण्डारीमाथिको आरोप पनि यसै मनसायले गरिएकामा शंका छैन ।
उक्त लेखमा प्रयोग भएका ‘रिटोरिकल सिल्ड’, ‘इन्न्युन्डो’ जस्ता शब्द राजनीतिमा चासो राख्ने सबैका लागि उपयोगी त छन् नै, विशेषगरी हाम्रा प्रधानमन्त्री ओलीका लागि झनै शिक्षाप्रद् छन् भन्ने लाग्छ । किनकि ओलीले ‘रिटोरिकल सिल्ड’ को सहारामा मदनको मृत्यु भएको ३२ वर्षपछि उनकै श्रीमती र छोरी सरिक कार्यक्रममा मदनमाथि अनावश्यक हिलो छ्याप्ने काम गरेका छन्, जुन आलोचनायुक्त मात्र होइन, खेदजनकसमेत छ । मदन भण्डारी फाउन्डेसनद्वारा गत शनिबार आयोजित कार्यर्क्रममा ओलीले मदनका तीन/चारवटी श्रीमती रहेको र सहकारी ठगको आरोप लागेको जस्ता सन्दर्भ निकालेर घुमाउरो तरिकाले मदन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गर्ने प्रयास गरेका थिए ।
प्रधानमन्त्री ओलीले विद्यादेवी र उनकी छोरीकै अगाडि त्यसरी मदनको तेजोवध गर्नुको रहस्य धेरैका लागि आश्यचर्यजनक छ । जुन पार्टीका लागि मदन आदर्श व्यक्ति हुन्, एक विचारक मानिन्छन्, तिनैका बारे यसरी अनापसनाप बोल्नुलाई कसैले पनि राम्रो मानेका छैनन् । वास्तवमा ओलीलाई विद्यादेवी राजनीतिमा आउन खोजेको पटक्कै मन परेको छैन । विद्यालाई राजनीतिमा आउनबाट रोक्न उनले अनेक हथकन्डा अपनाइरहेका छन् । तर मदनको अपमान गरेर विद्यादेवी र उनकी छोरीलाई प्रताडित गर्नुको मूल्य अथवा खामयाजा ओलीले नराम्रोसँग चुकाउनुपर्ने दिन अब धेरै टाढा छैन । आजसम्म एमाले चलेकै मदनको बहुदलीय जनवादको सिद्धान्त र विचारले हो । एमालेका लागि मदन व्यक्ति होइन, विचारक हुन् ।
– गोपाल देवकोटा, कामनपा–७, चाबहिल, काठमाडौं
