कान्तिपुरमा बुधबार प्रकाशित ‘रेमिट्यान्समा नयाँ रेकर्ड, जेठमै भित्रियो पौने २ खर्ब’ शीर्षक समाचार पढ्दा मनमा मिश्रित भाव उब्जिए ।
एकातर्फ, देशको अर्थतन्त्रलाई टेवा पुर्याएको र विदेशी मुद्रा सञ्चिति बढेकामा केही सन्तुष्टि मिल्छ तर अर्कोतर्फ यो रेमिट्यान्स हाम्रा युवाको आँसु र पसिनाको प्रतिफल हो भन्ने सोच्दा मन कुँडिन्छ । के हामी साँच्चिकै यसरी खुसी हुन सक्छौं ?
रेमिट्यान्सको वृद्धिले अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन् तर यसका पछाडि लुकेको तीतो यथार्थलाई हामीले भुल्नु हुँदैन । हाम्रो देशको ऊर्जावान् युवा जनशक्तिले आफ्ना परिवार, समाज र देशका लागि योगदान दिनुपर्ने बेलामा विदेशमा बाध्य भएर सस्तो श्रम बेचिरहेका छन् । उनीहरूले दसैं, तिहारजस्ता चाडपर्वमा समेत घर आउन नपाउने, बिरामी पर्दा हेरचाह गर्ने कोही नहुने र अनेक जोखिम मोलेर कमाएको पैसाले देश धानिएको छ । यो केवल आर्थिक तथ्यांकको कुरा मात्र होइन, यो लाखौं नेपाली परिवारको भावनात्मक बिछोडको कथा पनि हो । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने लामबद्ध युवाको लर्कोले हाम्रो देशको रोजगारी सिर्जना गर्न नसक्ने अक्षमतालाई छर्लंग पार्छ । सरकारले ‘रेमिट्यान्स बढ्यो’ भनेर खुसी मनाइरहँदा देशमै रोजगारीका अवसर सिर्जना गर्न किन ध्यान दिँदैन ? युवालाई विदेश पलायन हुनबाट रोक्न ठोस योजना किन बनाउँदैन ?
रेमिट्यान्सले तत्कालका लागि अर्थतन्त्रलाई राहत दिए पनि यसले दीर्घकालीन रूपमा देशलाई युवाविहीन बनाउँदै छ र सामाजिक तथा मानवीय मूल्यमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । हामीले रेमिट्यान्सको अंकमा रमाउनुभन्दा पनि आफ्नो युवा जनशक्तिलाई स्वदेशमै रोकेर उनीहरूको सीप र ऊर्जालाई देश निर्माणमा लगाउने वातावरण बनाउनुपर्छ । अन्यथा, यो ‘रेमिट्यान्सको रेकर्ड’ एक अदृश्य घाउ बनेर हामीलाई सधैं घोचिरहनेछ ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सिकोला
