कृषकमाथिको हेपाहा प्रवृत्तिको परिणाम हो भारतीय तरकारी

असार २०, २०८२

पाठक पत्र

Indian vegetables are the result of the hepaha trend on the farmers

जो–कोही स्वाभिमानी नेपालीलाई ‘कर्णालीका भान्सामा महाराष्ट्रको आलु, कानपुरको साग’ शीर्षक खबरले मर्माहत तुल्याएको हुनुपर्छ ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित उर्थुकी दिलसरा बुढाको वर्षायाममा आफ्नो ७ रोपनी जग्गामा उत्पादन भएको तरकारीबाट झन्डै २ लाख रुपैयाँको कारोबार भए पनि हिउँद र सुक्खायाममा भारतबाट आएको तरकारीमा निर्भर रहनुपर्ने भनाइले जुम्लाजस्तो चिरपरिचित जिल्लाको असफलता साबित भएको छ । सदरमुकाममै यो अवस्था छ भने, ग्रामीण भेगको हालत झन् कस्तो होला ? 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ की पम्फा बुढाको भोगाइ पनि दिलसराको भन्दा फरक छैन । उनलाई वर्षको अधिकांश समय भारतबाट आएको प्याज, लसुन, बन्दालगायत तरकारी नपकाई सुख छैन । दशकदेखि प्रदेश, स्थानीय सरकारले कृषकलाई आत्मनिर्भर बनाउने, निर्यात प्रवर्द्धनमा जोड दिनेजस्ता काममा बेवास्ता गरिरहँदा कर्णाली प्रदेशका सबैजसो जिल्ला भारतीय तरकारीमा निर्भर रहन बाध्य छन् । 

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भारतबाट ९३ करोडको तरकारी भित्रिँदा कर्णालीबाट मात्र १७ करोडको कृषिजन्य वस्तु बाहिरिएको छ । उक्त अंकले कर्णालीका सबै जिल्ला ऊर्वर हुँदाहुँदै संघीय शासन प्रणाली सञ्चालन भएको १० वर्षमा कृषि क्षेत्र झन् ओरालो लागेको प्रमाणित गर्दैन र ?

कर्णालीका विभिन्न जिल्लामा गाडी, प्लेन, हेलिकोप्टरबाट भारतीय तरकारीको ढुवानी हुन्छ भने विकट गाउँमा खच्चडबाट समेत पुर्‍याइने रहेछ । लामो दूरीबाट खर्चिलो ढुवानी गरेर गाउँगाउँ पुगेका भारतीय तरकारी स्थानीय तहमा उत्पादितको तुलनामा आधाभन्दा कम मूल्यमा बिक्री हुने गरेको सन्दर्भले हाम्रो निरीहता, अकर्मण्यता, कृषकमाथिको हेपाहा प्रवृत्ति उदांगो भएको छ । 

यता पहिलोपल्ट प्रांगारिक जिल्ला घोषणा गरिएको जुम्लाका सबै गाउँमा भारतीय तरकारीको थुप्रो लाग्ने गरेको दुःखद् अवस्थाबीच सरकारका जिम्मेवार पदधिकारी टुलुटुलु हेर्दै कृषि विकासका ठूला गफमा रमाइरहेका छन् । लाज पनि लजायो भनेको सायद यही होला । योभन्दा विडम्बना अरू के हुन सक्छ ?

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं 

पाठक पत्र

Link copied successfully