प्रतिनिधिसभाबाट हालै पारित संघीय निजामती सेवा विधेयकमा गरिएको ‘थपथाप’ अत्यन्त आपत्तिजनक छ । सर्वसम्मत पारित विधेयकमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ व्यवस्था गरी प्रशासनिक पदबाट अवकाश पाएपछि तत्काल राजनीतिक वा संवैधानिक नियुक्ति रोक्ने महत्त्वपूर्ण प्रावधान राखिएको थियो ।
तर प्रतिनिधिसभाबाट पारितभन्दा फरक ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा सरकारका अन्य नियुक्तिबाहेक’ भन्ने वाक्य थपेर विधेयक ल्याइएको छ । यो कार्य कानुनीभन्दा पनि नियतमाथिको प्रश्न हो । समितिले निर्णय नगरेको, छलफल नभएको शब्द कसरी विधेयकमा थपियो ? यस्ता कार्यले संसद्प्रति जनविश्वास घटाउने काम गर्छ ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादास्पद व्यवस्थाका विषयमा आफ्ना धारणा राख्दै कान्तिपुरसँगको कुराकानीमा ‘दोषी देखिए सजाय भोग्न तयार छु’ भनेका रहेछन् । यस प्रकरणमा मूल दोषी उनै हुन् । अब पनि ‘दोषी देखिए सजाय भोग्न तयार छु’ भनेर उनले छुट पाउनु हुँदैन । नेताहरूको आशीर्वाद छ भनेर छुटकारा दिइनु हुँदैन । विधेयकको दफा मिलाउने अधिकारीबाट कमजोरी भएको भनेर अब उनले उन्मुक्ति पाउने छैनन् । उनले त तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्छ । समिति सभापति खतिवडाले सामान्य प्रशासन मन्त्रालयका सहसचिवले दिएको सल्लाह र कानुनी प्रक्रियाका रूपमा जतिसुकै व्याख्या गरे पनि जनता र सरोकारवालाले यसमा उठाएका प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । विशेष गरी ‘कुलिङ अफ पिरियड’ मा भएको अनियमितताको आरोप गम्भीर प्रकृतिको छ । जनताले यसलाई ‘बदमासी’ भनेर बुझ्नु स्वाभाविकै हो ।
यदि कुनै निर्णय प्रक्रियामा त्रुटि भएको छ वा त्यसले सार्वजनिक विश्वासमा चोट पुर्याउँछ भने जिम्मेवार पदमा बसेका व्यक्तिले नैतिक जिम्मेवारी लिनु आवश्यक छ । यो प्रकरणले सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको अभावलाई फेरि उजागर गरेको छ । यस्ता विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र दोषीलाई कारबाही गर्न किञ्चित् पनि ढिला गर्नु हुँदैन ।
– प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सिकोला
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को एउटा राम्रो कुरो आयो । यो नआउँदा पनि भएकै थियो, चलेकै थियो । सुशासनका कुनै पनि कुरामा जनताले भनेर सरकारले सुन्ने कुरो पनि थिएन । तर सरकारले नै कुरा ल्याइसकेपछि, बहस भइसकेपछि र टुंगो लागिसकेपछि फेरि जस्ताको तस्तै किन भयो ? के त्यत्रो समितिमा बस्ने ‘दिग्गज माननीयहरू’ लाई आफैंले पारित गरेको कुरो पनि थाहा भएन ? यसबाट पनि सरकारको नियत कस्तोसम्म रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । खराब नियत भएका अनुहारहरू धमाधम चिनिँदै जान थालेका छन् ।
– अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा
