समिति सभापतिको राजीनामा नै उपयुक्त निकास

असार १९, २०८२

पाठक पत्र

The appropriate way out is the resignation of the chairman of the committee

प्रतिनिधिसभाबाट हालै पारित संघीय निजामती सेवा विधेयकमा गरिएको ‘थपथाप’ अत्यन्त आपत्तिजनक छ । सर्वसम्मत पारित विधेयकमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ व्यवस्था गरी प्रशासनिक पदबाट अवकाश पाएपछि तत्काल राजनीतिक वा संवैधानिक नियुक्ति रोक्ने महत्त्वपूर्ण प्रावधान राखिएको थियो ।

तर प्रतिनिधिसभाबाट पारितभन्दा फरक ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा सरकारका अन्य नियुक्तिबाहेक’ भन्ने वाक्य थपेर विधेयक ल्याइएको छ । यो कार्य कानुनीभन्दा पनि नियतमाथिको प्रश्न हो । समितिले निर्णय नगरेको, छलफल नभएको शब्द कसरी विधेयकमा थपियो ? यस्ता कार्यले संसद्प्रति जनविश्वास घटाउने काम गर्छ । 

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादास्पद व्यवस्थाका विषयमा आफ्ना धारणा राख्दै कान्तिपुरसँगको कुराकानीमा ‘दोषी देखिए सजाय भोग्न तयार छु’ भनेका रहेछन् । यस प्रकरणमा मूल दोषी उनै हुन् । अब पनि ‘दोषी देखिए सजाय भोग्न तयार छु’ भनेर उनले छुट पाउनु हुँदैन । नेताहरूको आशीर्वाद छ भनेर छुटकारा दिइनु हुँदैन । विधेयकको दफा मिलाउने अधिकारीबाट कमजोरी भएको भनेर अब उनले उन्मुक्ति पाउने छैनन् । उनले त तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्छ । समिति सभापति खतिवडाले सामान्य प्रशासन मन्त्रालयका सहसचिवले दिएको सल्लाह र कानुनी प्रक्रियाका रूपमा जतिसुकै व्याख्या गरे पनि जनता र सरोकारवालाले यसमा उठाएका प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । विशेष गरी ‘कुलिङ अफ पिरियड’ मा भएको अनियमितताको आरोप गम्भीर प्रकृतिको छ । जनताले यसलाई ‘बदमासी’ भनेर बुझ्नु स्वाभाविकै हो । 

यदि कुनै निर्णय प्रक्रियामा त्रुटि भएको छ वा त्यसले सार्वजनिक विश्वासमा चोट पुर्‍याउँछ भने जिम्मेवार पदमा बसेका व्यक्तिले नैतिक जिम्मेवारी लिनु आवश्यक छ । यो प्रकरणले सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको अभावलाई फेरि उजागर गरेको छ । यस्ता विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र दोषीलाई कारबाही गर्न किञ्चित् पनि ढिला गर्नु हुँदैन । 

प्रमोद पौडेल, काठमाडौं–३२, पेप्सिकोला


निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को एउटा राम्रो कुरो आयो । यो नआउँदा पनि भएकै थियो, चलेकै थियो । सुशासनका कुनै पनि कुरामा जनताले भनेर सरकारले सुन्ने कुरो पनि थिएन । तर सरकारले नै कुरा ल्याइसकेपछि, बहस भइसकेपछि र टुंगो लागिसकेपछि फेरि जस्ताको तस्तै किन भयो ? के त्यत्रो समितिमा बस्ने ‘दिग्गज माननीयहरू’ लाई आफैंले पारित गरेको कुरो पनि थाहा भएन ? यसबाट पनि सरकारको नियत कस्तोसम्म रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । खराब नियत भएका अनुहारहरू धमाधम चिनिँदै जान थालेका छन् ।

अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा 

पाठक पत्र

Link copied successfully