समिति सभापति जवाफदेही बन्नुपर्छ

असार १८, २०८२

पाठक पत्र

The chairman of the committee should be held accountable

नेपालको निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई लिएर उत्पन्न विवादले कर्मचारीतन्त्रको स्वार्थकेन्द्रित प्रवृत्ति र विधायिकी प्रक्रियाको कमजोरीलाई उजागर गरेको छ ।

यो केवल कानुनी अस्पष्टता होइन, बरु कर्मचारीतन्त्र र राजनीतिक शक्तिकेन्द्रको योजनाबद्ध बद्मासी पनि हो । 

विशेष गरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको शंकास्पद भूमिकाले यो जालझेलको गम्भीरता र कर्मचारीतन्त्रको जरैदेखि पुनःसंरचना गर्नुपर्ने आवश्यकता देखाएको छ । ‘कुलिङ अफ पिरियड’, जसले निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा वा अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिनबाट रोक लगाउँछ, सुशासन र निष्पक्षता सुनिश्चित गर्ने महत्त्वपूर्ण औजार हो । तर, समितिको सर्वसम्मत निर्णय दफा ८२ (४) लाई दफा ८२ (५) (क) मा थपिएको परस्परविरोधी प्रावधानले निष्प्रभावी बनाएको छ, जसले संवैधानिक, कूटनीतिक र सरकारले गर्ने अन्य नियुक्तिलाई छुट दिएको छ । यो जालझेलमा खतिवडाको भूमिका अत्यन्त शंकास्पद छ । समितिको सहमतिविपरीत परस्परविरोधी प्रावधान थपिनुमा उनको प्रत्यक्ष संलग्नता रहेको सांसदहरू हृदयराम थानी, हितराज पाण्डे र प्रकाश अधिकारीले आरोप लगाएका छन् । 

समिति सभापति खतिवडाले अन्तिम बैठक नराखी सांसदहरूलाई विश्वासमा लिएर प्रतिवेदन तयार गर्ने आश्वासन दिए पनि परस्परविरोधी प्रावधान थपिएको खुलासा भएको छ । उनले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई दोष देखाए पनि उनी आफ्नो जिम्मेवारीबाट पन्छिन सक्दैनन् । सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग खतिवडाको बारम्बार छलफल र उनीहरूको दबाबमा यो हेरफेर भएको आशंका व्यक्त गरेका छन् । यो कार्यले खतिवडाको नियत र समितिको स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएको छ ।

यो प्रकरण कर्मचारीतन्त्रको बदनियत र अस्वस्थ गठजोडको परिणाम पनि हो । सांसदहरूले मुख्यसचिव र सचिवहरूले सामूहिक राजीनामाको धम्की दिएर यो प्रावधान निष्प्रभावी बनाउन दबाब दिएको बताएका छन् । पूर्वसचिव मुकुन्द शर्माले यस्ता कार्यलाई ‘कर्मचारीतन्त्रको बद्मासी’ को संज्ञा दिँदै विगतमा पनि यस्तै हेरफेर भएको उल्लेख गरेका छन् । 

समिति सभापति खतिवडाको शंकास्पद भूमिकामाथि स्वतन्त्र छानबिन र कारबाही आवश्यक छ । कर्मचारीतन्त्रमा जवाफदेहिता सुनिश्चित गर्न कडा नीति, विधायिकी प्रक्रियामा पारदर्शिता र राजनीतिक हस्तक्षेपको अन्त्य गर्नुपर्छ । राष्ट्रिय सभाले यो त्रुटि सच्याएर समितिको सहमति पुनःस्थापित गर्नुपर्छ । अन्यथा, कर्मचारीतन्त्रको बदनियत र खतिवडाजस्ता नेतृत्वको लापरबाहीले जनताको संसद् र सुशासनप्रतिको विश्वास थप खण्डित हुनेछ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully