मैले एउटा पसलमा पुगेर प्यास मेटाउने हेतुले चिसो कोकाकोला मागें । खोलेर पिएँ । तर स्वाद मन परेन । स्वाद अलिक फरक पनि लाग्यो । मैले सोचें– यो कोकाकोलाले पनि अब आफ्नो स्तर घटाएछ !
नेपालका केही कम्पनी त्यस्तै छन्, सुरुमा राम्रो सामान उत्पादन गर्छन् । जब चल्न र मार्केट बन्न थाल्छ– तब स्तर घटाउँछन् । यो कोकाकोलाले पनि त्यस्तै गरेछ भन्ने लाग्यो । नमिठो लागी लागी केही खाएँ र आधा जति छोडेर पैसा तिरें । साहुजीलाई भनें पनि– ‘अचेल कोकाकोला कति नमिठो आउन थालेछ !’
साहुजी अलिक मुस्कुराए । उनको मुस्कुराहट अलि अस्वाभाविक लागेकाले सोधें– ‘किन मुस्कुराउनुभो ?’ उनले फिर्ता पैसा गन्दै गर्दा मैले आफूले खाएको कोकाकोलाको बोतल उठाएर हेरें । कोकाकोलाको बोतलजस्तै देखिने त्यो त ‘कोला’ पो रहेछ । त्यसपछि मैले फेरि साहुजीलाई भनें, ‘कोकाकोला भनेर ‘कोला’ दिने ?’
उनले हाँस्दै भने, ‘तपार्इंले चिसो मात्रै माग्नुभयो, त्यसैले यही दिएँ ।’ अर्को दिन महानगरको गाडी भनेर चढेको भित्र हेर्दा त सिटहरू अलि साँघुरा र भित्रको सजावट पनि अलि फरक लाग्यो । पछि थाहा भयो यो त महानगर नभएर उस्तै देखिने ‘महासागर’ यातायात पो रहेछ । यसरी पनि हामी झुक्किरहेका छौं । यसको अनुगमन कसले गर्ने ?
– अमोघसिद्धि मिश्र, भानु–११, तनहुँ
