भ्रमको बाकसमा बाँधिएको समाज

असार १७, २०८२

पाठक पत्र

A society trapped in a box of illusions

हाम्रो समाजमा चेतना र शिक्षाको उज्यालो छ, तर यथार्थ बुझ्ने दृष्टि अझै भ्रमको पर्दाले छोपिएको छ । समय बदलिए पनि, पुस्ताहरू फेरिए पनि, केही गलत धारणा र सामाजिक विश्वास यति गहिरोसँग जरा गाडेर बसेका छन् कि तिनले मानिसको स्वतन्त्र चिन्तनलाई बन्दी बनाइरहेका छन् ।

यी भ्रमले समाजलाई साँचो प्रगतिबाट टाढा राख्छन् र हाम्रो विवेकमाथि प्रश्न उठाउँछन् । 

हाम्रो समाज अझै यस्ता अन्धविश्वासमा बाँधिएको छ कि बोर्डिङ स्कुलको शिक्षा मात्र छोराछोरीको भविष्यको आधार हो, निजी अस्पतालमा उपचार गराउनु मात्र स्वास्थ्यको ग्यारेन्टी हो र वातानुकूलित बसमा यात्रा गर्नु नै सभ्यताको प्रमाण हो । यस्तै, बन्द बोतलको पानी शुद्ध हुन्छ, काठमाडौं बसेपछि मात्र अवसर प्राप्त हुन्छ, चिनेको पसलेले ठग्दैन वा महँगो रेस्टुराँको खाना स्वच्छ र स्वादिलो हुन्छ भन्ने भ्रम हाम्रो दैनिक जीवनमा गहिरोसँग गाँसिएका छन् । 

आर्थिक र सामाजिक क्षेत्रमा पनि यस्ता भ्रमले जरा गाडेका छन् । आईपीओमा लगानी गरेपछि छिट्टै धनी भइन्छ, विदेश गएपछि पैसा रूखमा फल्छ वा सामाजिक सञ्जालमा फलोअर धेरै भए सफलता हात लाग्छ भन्ने सोचले युवालाई भड्काइरहेको छ । धनी देखिनु सुखी हुनु हो, अंग्रेजी बोल्नु बुद्धिमत्ताको परिचय हो वा नास्तिक हुनु सामाजिक अपराध हो भन्ने धारणाले विचार स्वतन्त्रतालाई कुण्ठित बनाएको छ । 

चाडपर्व नमान्दा अनिष्ट हुन्छ, परीक्षाको अंकले मात्र जीवनको सफलता नापिन्छ, पशुपन्छीको बलिदानले रोग निको हुन्छ वा महिनावारीमा महिलालाई अपवित्र ठानिन्छ, जस्ता विश्वासले समाजलाई पछाडि धकेलिरहेका छन् । खेतीलाई तल्लो स्तरको काम ठान्ने, सरकारी जागिरलाई मात्र सम्मानजनक मान्ने वा भीडको निर्णयलाई सधैं सही ठान्ने प्रवृत्तिले उद्यमशीलता र विवेकलाई कमजोर बनाएको छ । 

यी भ्रम केवल सामाजिक विकृति होइनन्, एक प्रकारको मानसिक बन्दीगृह हुन्, जसले सोच र निर्णय गर्ने क्षमतालाई थुनेर राख्छ । यस्ता भ्रमको चिरफार नगरी समाजले साँच्चिकै प्रगति गर्न सक्दैन । सच्चा शिक्षाले यी भ्रमका पर्दा उघार्छ र विवेकको उज्यालोले चेतनाको नयाँ बिहान ल्याउँछ । 

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully