नेपालको बजार अहिले नक्कली ब्रान्डको बाढीले डुबेको छ । उपभोक्ता चिन्दा नचिन्दै झुक्किन्छन्, किनभने ‘कोकाकोला’ जस्तै ‘चिलकोला’, ‘रेडबुल’ जस्तै ‘रेड ब्लु’, ‘स्प्राइट’ जस्तै ‘राइट’, अनि ‘नौ बजे’ चामलसँग मिल्दोजुल्दो ‘नौ बजेअ’ नाम राखेर समान किसिमको प्याकेजिङमा सामान बेच्ने प्रवृत्ति व्यापक भएको छ ।
यस्तो नाम, लेआउट र लोगोको चोरी केवल व्यापारिक चलाखी होइन, यो एउटा गम्भीर बौद्धिक सम्पत्ति चोरी हो, जसको असर न त सरकारले बुझिरहेको छ, न कानुनले रोकिरहेको छ ।
एकातिर यी नक्कली ब्रान्डले उपभोक्तालाई ठगिरहेका छन् भने अर्कातिर ती उद्यमी, जसले आफ्नो मिहिनेत र लगानीले मौलिक उत्पादन बजारमा ल्याएका छन्, उनीहरू निराश र हतोत्साहित भइरहेका छन् । सरकारको उद्योग विभागमा २०६८ सालदेखि हालसम्म १८ सय ९३ वटा ट्रेडमार्कसम्बन्धी उजुरी परेका छन्, तर तीमध्ये केवल २ सय ९ वटाको मात्र सुनुवाइ र टुंगो लागेको छ । बाँकी उजुरी वर्षौंदेखि फाइलमै थन्किएका छन् । यो सुस्त कार्यशैली र गैरजिम्मेवार व्यवहारले बौद्धिक सम्पत्ति संरक्षण गर्नुपर्ने सरकारी दायित्वमाथि गम्भीर प्रश्न उठाएको छ ।
ट्रेडमार्क केवल नाम होइन, त्यो व्यापारको इमान, पहिचान र ब्रान्डको मूल्य हो । उपभोक्ताले ब्रान्ड हेरेर सामानको गुणस्तर विश्वास गर्छन् । तर जब यस्तै नाम र प्याकेजमा गुणस्तरहीन नक्कली वस्तु बेच्छन्, तब उपभोक्ता ठगिन्छन् र मौलिक उद्यमीको मिहिनेतको अवमूल्यन हुन्छ । यस्तो चोरी रोक्न सरकार मौन बस्नु भनेको चोरलाई संरक्षण दिनुसरह हो ।
तसर्थ सरकारले यस्ता व्यापारिक चोरी र बौद्धिक सम्पत्तिमाथिको हमला रोक्न कडा कानुन र प्रभावकारी कार्यान्वयन गरोस् । उद्योग विभागले छिटोछरितो सुनुवाइ गर्ने विशेष अदालत स्थापना गर्नुपर्छ । नक्कली ब्रान्ड बेच्ने, उत्पादन गर्ने वा त्यसको दर्ता गर्नेहरूमाथि जरिवाना मात्र होइन, जेल सजायको समेत प्रावधान ल्याउनुपर्छ । बौद्धिक सम्पत्ति उल्लंघनमा लापरबाही गर्ने कर्मचारीमाथि पनि जिम्मेवारी तोक्नुपर्छ ।
यदि सरकारले अझै पनि कान नसुन्ने हो र बुझे पनि नबुझेझैं गरिरहने हो भने नेपाल सिर्जनशील उद्यमशीलताको थलो होइन, सस्तो नक्कलका सामानको बजार बन्दै जान्छ । जहाँ नयाँ सोच होइन, चोरिएका ब्रान्ड बिक्छन् । यस्तो प्रवृत्तिले देशको आर्थिक प्रगति होइन, बौद्धिक पतन ल्याउँछ ।
त्यसैले अब ढिला गर्नु हुँदैन । उपभोक्ताको विश्वास र लगानीकर्ताको मिहिनेत जोगाउन नक्कली ब्रान्डको खेल तुरुन्त बन्द गरिनुपर्छ । अब कानुनले बोलेर देखाउने बेला आएको छ नत्र बजारमा नक्कल विजयी हुनेछ, मौलिकता पराजित बन्नेछ ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
