इजरायल–इरानबीचको संग्राम खतरनाक मोडमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा युद्ध सुरु भएको १२औं र आफू प्रत्यक्ष सहभागी भएको दोस्रो दिनमा रोकिएको छ ।
परमाणु हतियार बनाउने विषयलाई लिएर अमेरिकासँग हुने वार्ताको दिन नजिकिँदै गरेका बेला थाहै नदिई रातमा इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेपछिका दिनमा चर्केको लडाइँले दुवैतर्फ ठूलो जनधनको क्षति भइसकेको छ । मानवीय हताहतीबारे सत्यतथ्य बाहिर नआए पनि सोबारेको अंक निकै ठूलो भएको अनुमान गर्न सकिन्छ । दुई देशबीचको लडाइँ उग्र बनिरहेका बेला अमेरिका पनि सहभागी भई इरानका ३ परमाणु केन्द्र ध्वस्त पार्न ६ वटा शक्तिशाली बमले आक्रमण गरेको त्रासदीपूर्ण घटना भुल्न सकिँदैन ।
युद्धकै क्रममा इजरायलले इरानका परमाणु वैज्ञानिक, ड्रोनविज्ञ, सैन्य अधिकारी गरी आधा दर्जन बढी व्यक्तिको हत्या गरेको विषयले इरान अरू क्रुद्ध बनेको देखियो । बम आक्रमणको बदलास्वरूप इरानले कतार र इराकका अमेरिकी सैनिक अखडा नजिक मिसाइल, ड्रोन आक्रमण गरेर अमेरिकालाई समेत ललकार्न सफल बन्यो ।
यतिखेर लडाइँको विषयलाई लिएर अमेरिका, इरान र इजरायल तीनै देशले आ–आफ्नो जित भएको धाक लगाइरहेका छन् । जसले जे भने पनि सबैलाई ह्याकुलाले मिच्न खोज्ने अमेरिका युद्धबाट पछि हटेको र तत्काललाई विश्वयुद्धको खतरा टरेकामा यसलाई विश्वकै जितका रूपमा अर्थ्याउनु चाहिँ बुद्धिमत्तापूर्ण हुन्छ ।
–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
