आर्यघाट भनेको नेपाली समाजको सांस्कृतिक र धार्मिक जीवनको एक पवित्र स्थल हो, जहाँ मानिसहरू आफ्ना प्रियजनको अन्तिम संस्कार गर्न र मृतात्माको शान्तिको कामना गर्न पुग्छन् ।
यो त्यही ठाउँ हो, जहाँ जीवनको यात्रा मौन रूपमा समापन हुन्छ र मानवताको गहिरो संवेदनाले स्थान पाउँछ । तर यही पवित्र स्थलमा भएको भ्रष्टाचारको खबरले देशको नैतिक धरातल कति खस्किसकेको छ भन्ने कुरालाई नांगो रूपमा प्रस्तुत गरेको छ ।
पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित स्वचालित शवदाह मेसिन खरिदमा भएको अनियमितताले यो कुरालाई थप पुष्टि गर्छ । ५२ लाख रुपैयाँ पर्ने मेसिनलाई १ करोड ५२ लाखमा खरिद गरिएको र कुल १० करोड ३४ लाख रुपैयाँ खर्च भएको विवरणले यो केवल आर्थिक अपराध नभई मानवता र सभ्यतामाथिको ठूलो आघात हो भन्ने स्पष्ट हुन्छ ।
यो प्रकरणमा तत्कालीन कोषका सदस्य–सचिव डा. मिलनकुमार थपलिया, परामर्शदाता कम्पनी, ठेकेदार र अन्य संलग्न पक्षको मिलेमतोले यस्तो लज्जास्पद कार्य सम्भव भएको देखिन्छ । फर्जी बिल, मनपरी मूल्यांकन र सरकारी संयन्त्रको दुरुपयोगले यो भ्रष्टाचारको जाल बुनिएको छ । यो केवल शवदाह मेसिनको खरिदमा भएको अनियमितताको कथा मात्र होइन, यो त हाम्रो समाजको नैतिक पतन र संवेदनहीनताको डरलाग्दो चित्र हो । आर्यघाटजस्तो स्थान, जहाँ मानिस आँसु र श्रद्धाले भरिएर पुग्छन्, त्यहाँ लासका नाममा कमिसन र व्यापार गर्नु भनेको सम्पूर्ण सांस्कृतिक र धार्मिक मूल्य–मान्यतामाथि कालो धब्बा लगाउनु हो ।
अब प्रश्न उठाउनु मात्र पर्याप्त छैन । यो भ्रष्टाचारको जालो तोड्न र यस्ता अपराधीहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन सक्रिय प्रतिवाद आवश्यक छ । यदि यस्ता कुकर्ममा संलग्नलाई दण्डित गरिएन भने देशको आत्मा र नैतिक आधार झनै कमजोर बन्नेछ ।
– सन्तोष सिम्खडा, टोकियो जापान
