संसद्मा संयम र मर्यादा

असार ११, २०८२

पाठक पत्र

Moderation and dignity in Parliament

संसद्मा पछिल्ला केही वर्षयता सांसदबाट प्रयोग भएका अभिव्यक्तिले संसदीय मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ । संसद् नीति–निर्माणको थलो मात्र होइन, सार्वजनिक संस्कार र राष्ट्रिय अनुशासन प्रदर्शन हुने उच्चतम दृष्टान्तस्थल पनि हो ।

तर अहिले संसद्भित्र प्रयोग भइरहेको भाषाशैलीले नेपाली लोकतन्त्रको नैतिक धरातल हल्लिने खतरा बढेको छ ।

संसदीय व्यवस्थाको परिपक्व उदाहरण बनेका बेलायतको हाउस अफ कमन्स, भारतको लोकसभा वा जापानको डाइटलगायतका संस्था भाषिक मर्यादा, तथ्यपरक बहस र सम्मानको संस्कारमा अडिएका छन् । त्यहाँ गम्भीर अपमानजनक शब्द प्रयोग गर्नु नियमको उल्लंघन मात्र होइन, सांसदको नैतिक पतनको कारकसमेत मानिन्छ । त्यति मात्र होइन, त्यस्तो भाषिक अशिष्टता रोक्ने प्रक्रिया तत्काल सुरु गरिन्छ । तर नेपालमा भने विभेदजन्य लोकोक्ति र भाषिक अशिष्टता दोहोर्‍याइरहेका छन् ।

संसद् आक्रोश व्यक्त गर्ने थलो हुँदै होइन । यो त स्वस्थ बहस र संस्कारयुक्त मर्यादित व्यवहार प्रस्तुत गर्ने उच्चतम माध्यम हो । तसर्थ लोकोक्ति, व्यंग्य वा कटाक्ष गर्दा सांसदहरूले भाषिक विवेक गुमाउनु हुँदैन । त्यसो भयो भने संसद् हास्यास्पद बन्नुका साथै जनताको नजरमा त्यसको औचित्य क्षयीकरण हुन पुग्छ । यसका लागि सर्वप्रथम सबै सांसदलाई कार्यकालको प्रारम्भमै संसदीय आचारसंहिता, भाषिक मर्यादा र लोकतान्त्रिक व्यवहारका सन्दर्भमा अनिवार्य प्रशिक्षण दिनुपर्छ । दोस्रो, दलहरूले आफ्ना सांसदलाई अभिव्यक्तिको सीमाबारे स्पष्ट चेतावनी दिनुपर्छ । तेस्रो, संसद्भित्र असंसदीय शब्द प्रयोग गर्ने सांसदलाई सार्वजनिक रूपमा जिम्मेवार ठहर गर्ने व्यवस्था हुनुपर्छ । चौथो, सभामुखले निर्णय गर्दा दलगत दबाब वा सहमतिभन्दा माथि उठ्नुपर्छ । अनि पाँचौं, सांसदहरूले संसदीय क्रियाकलापको

आत्मसमीक्षा गर्दै आफूले प्रयोग गर्ने शब्द सामाजिक संस्कार, मर्यादा र मूल्य–मान्यतायुक्त भए, नभएको विशेष ख्याल गर्नुपर्छ ।
संसद् बोल्न पाउने शक्तिको केन्द्र हो भन्दैमा त्यहाँ क्षणिक लाभका लागि जे पायो त्यही बोल्नु कदापि उचित होइन । बोल्न पाउने अधिकारको प्रयोग गर्दा सामाजिक संस्कार र मूल्य–मान्यताप्रति सचेत र सतर्क रहेर अभिव्यक्ति दिनु हरेक जनप्रतिनिधिको उत्तरदायित्व पनि हो ।

सांसदहरूमा भाषिक मर्यादा र वैचारिक परिपक्वता रहेन भने संसद्को दृश्य अझै कुरूप बन्दै जाने निश्चित छ । त्यसैले संसद्को गरिमा जोगाउन सांसदहरू स्वयं संस्कारयुक्त हुनुपर्छ । दलहरूले आफ्ना सांसदलाई सामाजिक संस्कार सिकाउनैपर्छ । त्यसो हुन सके मात्रै संसद् सभ्य र लोकतान्त्रिक व्यवस्था सुदृढ हुँदै जान्छ ।

टेकेन्द्र अधिकारी, विराटनगर

पाठक

Link copied successfully