ओलीको महत्त्वाकांक्षामा लाग्ला त ब्रेक ?

असार १०, २०८२

कान्तिपुर संवाददाता

Will there be a break in Oli's ambition?

काठमाडौँ — दिवंगत मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीको राजनीतिमा सक्रिय हुने खबरले यतिखेर राजनीति तरंगित बनेको छ ।

दिवंगत मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीको राजनीतिमा सक्रिय हुने खबरले यतिखेर राजनीति तरंगित बनेको छ । ‘एमालेको उकुसमुकुसबीच भण्डारीको पुनरागमनको तयारी’ शीर्षक कान्तिपुरको समाचारले पनि यही कुरालाई पुष्टि गरिदिएको छ । १४ असारमा मदन भण्डारीको जन्मजयन्ती मनाइँदै छ ।

विशेषतः विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुराले एमालेको केपी शर्मा ओली समूहमा ठूलै भूकम्प ल्याइदिएको छ । किनकि, ओली अझ एक कार्यकाल एमालेको अध्यक्ष बन्ने महत्त्वाकांक्षा र लालसा पालेर बसेका छन् । तर, उनको त्यो लालसामा पार्टी विधान र भण्डारी पर्खाल बन्ने संकेत देखिएको हो ।

एमालेको विधानमा पदाधिकारीका लागि ७० वर्षको उमेर हद तोकिएकामा ओलीकै विशेष चाहनामा पार्टी सचिवालयले तत्कालका लागि स्थगन मात्र गरेको थियो, जुन पुनः ब्युँतिन पनि सक्छ । किनभने, महाधिवेशनबाट पारित गरेको प्रावधान सचिवालयले बदर गर्न सक्ने कानुनी हैसियत छैन । उता दुई पटकभन्दा बढी कार्यकारी प्रमुख नबन्ने मान्यता पनि पार्टीभित्र रहेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको तर्कले पनि ओलीलाई तेस्रो पटक पार्टी अध्यक्ष बन्न गाह्रो देखिएको छ । यतिका बाबजुद ओलीलाई सबैभन्दा ठूलो टाउको दुखाइ भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने कुराले बनाएको छ । के साँच्चै ओलीको महत्त्वाकांक्षामा अब लाग्ला त ब्रेक ?

गोपाल देवकोटा, कामनपा–७, चाबहिल, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully